राजनीति


आजदेखि विराटनगरमा देशैभरिका स्थानीय तहका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन

आजदेखि विराटनगरमा देशैभरिका स्थानीय तहका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन

सुमन सुस्केरा
जेठ २३, २०८२ शुक्रबार ७:४३, विराटनगर

देशैभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदै छ। 

संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पहिलोपटक विराटनगरमा हुन लागेको हो।  विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोली (जेठ २३ र २४ गते) वीरेन्द्र सभागृहमा सम्मेलन हुने छ। 

दुई दिने सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवाद तथा मुद्धाहरुलाई थप प्रभावकारी बनाउन अन्तरपालिका अनुभव आदान प्रदान गर्ने, वार्षिक योजना तर्जुमा र योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षको भूमिका बारेमा थप स्पष्टता ल्याउने लगायतका उद्देश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्। 

उनले भनिन्, ‘स्थानीय सरकारको आन्तरिक राजस्व वृद्धिमा उपप्रमुख तथा उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, सङ्घीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिकामा थप स्पष्टता ल्याउने विषयमा छलफल हुनेछ।’ 

स्थानीय तहबाट नागरिकलाई उपलब्ध गराउने सेवा प्रवाह लगायत विकास निर्माणका कार्यहरूको अनुभव आदानप्रदान,  विद्यमान कानुनमा भएका अस्पष्टता र बाझिएका कानुन संशोधनका लागि घोषणापत्र तयार गरी संघीय सरकार तथा प्रदेश सरकारलाई सम्मेलनले सुझाव दिने बताइएको छ। 

सम्मेलनमा महानगरपालिका, उप महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका  गरेर २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी हुने छन्। मौसममा आएको बदलीका कारण सबै स्थानीय तहबाट सहभागी हुन समस्या हुने देखिएको छ।  

दुई दिने सम्मेलनमा तीन वटा  कार्यपत्र प्रस्तुत हुने प्रस्तुत हुने र कार्यपत्रमाथि प्यानलिस्टहरूले आ आफ्नो धारणा राख्दै छलफल गरिनेछ। 

संवैधानिक व्यवस्थामा न्यायिक समितिको भूमिकाको विषयमा काशीराज दाहाल, वित्तीय सङ्घीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिकाको विषयमा डाक्टर गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख उपाध्यक्षको भूमिकाको विषयमा रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन्।

सम्मेलनमा देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, कोसी प्रदेशका १३७, मधेस प्रदेशका ७३ र बागमती प्रदेशका २१ वटा नगरपालिका तथा बाँकी ५ वटा प्रदेशबाट समेत गरी २९१ जना उपप्रमुख तथा उपाध्यक्ष आउने तय भएको छ। 

धेरै पालिकाका उपप्रमुख विराटनगर आइसकेका महानगरपालिकाले जनाएको छ। कोसी प्रदेशमा विराटनगर एक मात्र महानगरपालिका हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad