ad ad

राजनीति


कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, पहिलो चरणमा तीन मन्त्रीले पाए जिम्मेवारी

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, पहिलो चरणमा तीन मन्त्रीले पाए जिम्मेवारी

मन्त्रीको शपथ लिँदै।


नेपालखबर
साउन १७, २०८० बुधबार १७:५३, काठमाडौँ

 कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका छन्। 

बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। 

थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन्। गत असार २१ मा मुख्यमन्त्री बनेका थापा साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तीमा परेका थिए। 

२६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन लिएका छन्। 

थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभा सभामुख बाबुराम गौतमले मंगलबार राजीनामा दिएर बहुमत अर्थात् ४७ संख्या पुर‍्‍याउन भूमिका खेले।

सभामुख गौतमले राजीनामा दिएपछि बहुमत जुटाएका थापाले बुधबार पहिलो चरणमा तीनजनालाई मन्त्री बनाएका छन्। 

थापाले शपथ लिएलगत्तै तीनजनाले मन्त्रीको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रका गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन्। 

मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङसामु पद तथा गोपनीयताको शपथ लिएका।

सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सरकार बनाउन योगदान दिएका गौतम मुख्यमन्त्री थापापछिको वरीयता पाउँदै आर्थिक मामिला मन्त्री नियुक्त भएका छन्।

यस मन्त्रालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यको पनि दाबी थियो।

तर उनले अन्तिम समयमा आफू अहिले मन्त्री नबन्ने बताएपछि गौतमलाई राहत मिलेको छ।

उता एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन्। 

जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए। तर, मुख्यमन्त्री थापा नै अदालतबाट बर्खास्तीमा परेपछि उनीहरु पनि २२ दिनमै स्वत: पदमुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .