राजनीति


कोशीमा सभामुखको राजीनामा गराएर सरकार बनाउन कांग्रेसको प्रस्ताव

कोशीमा सभामुखको राजीनामा गराएर सरकार बनाउन कांग्रेसको प्रस्ताव

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार ११:५९, काठमाडौँ

आफ्नै नेतृत्व कोशी प्रदेश सरकार गठन गर्ने गृहकार्य गरिरहेको नेपाली कांग्रेसले सभामुख बाबुरा गौतमको राजीनामा गराएर बहुमत (४७) देखाउन प्रस्ताव गरेको छ।

यसअघि असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्त सर्वोच्च अदालतले रद्द गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नै नयाँ सरकार गठन गर्न १६ साउनसम्म समय दिएका छन्।

प्रदेश प्रमुखले दिएको निर्धारित मितिमै बहुमत देखाउन कांग्रेसले कोशीका सभामुख गौतमको राजीनामा दिलाउने रणनीति बनाएको नेताहरु बताउँछन्।

तर, कांग्रेसको उक्त प्रस्तावलाई माओवादी केन्द्रले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको छ। गौतम माओवादीबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। 

असार २१ गते कांग्रेस कोशी प्रदेश संसदीय नेता उद्धव थापालाई  मुख्यमन्त्री  बनाउन सभामुख गौतमले पनि हस्ताक्षर गरेका थिए। 

तर, गत बुधबार सर्वोच्च अदालतको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै त्यसका आधारमा बहुमत दाबी गर्ने प्रक्रियालाई नै रद्द गरिदिएको थियो। त्यसपछि थापाको नियुक्ति पनि बदर भएको छ।

२२ दिनमै थापा नेतृत्वको सरकार रद्द भएपछि त्यही प्रक्रियाअनुसार फेरि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान कांग्रेसको छ। 

तर कांग्रेसको उक्त कुरामा माओवादी मानिरहेको छैन। माओवादीले पनि अब आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने मत सार्वजनिक गरिसकेको छ। 

कोशी प्रदेश माओवादी केन्द्र दलका नेता इन्द्र आङ्बोले संविधान रक्षाका लागि विगतको जस्तो गल्ती नदोहोर्‍याउने बताएका छन्। 

‘हामीले विगतमा सरकार बनाउन सभामुखको सहयोग लिएका थियौँ,’, उनले भने, ‘तर, त्यो संविधानको मर्मविपरीत भएको सर्वोच्च अदालतले ठहर गर्‍यो। फेरि हामी त्यो गल्ती दोहोर्‍याउदैनौँ।’

कोशी सरकारविहीन रहेको अवस्थामा सत्तारुढ गठबन्धनका नेताहरु काठमाडौं केन्द्रित छन्। सभामुख गौतम पनि काठमाडौंमै छन्। उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad