नेपाली कला क्षेत्रमा पछिल्ला केही वर्षयता राम्रो सहकार्य गरिरहेका राजु मास्टर (राजु पौडेल) र बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को सम्बन्धमा खटपट आएको छ।
टेलिसिरियल ‘मेरी बास्सै’ लेखन र निर्देशनमा सहकार्य गरेका राजु र बल्छीले त्यसपछि अन्य दुई सिरियलमा सहकार्य गरे।
यी दुईको सहकार्यमा निर्माण भएका ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियललाई दर्शकले पनि माया दिए। पछिल्लो पटक निर्माण गरिएको ‘जुठे’ सिरियललाई दर्शकले अत्यधिक मन पराएका छन्।
सिरियलबाट सहकार्य सुरु गरेका राजु र बल्छीले देश तथा विदेशका मेला महोत्सवमा पनि जोडी भएर प्रस्तुती दिए।
आयोजकले उनीहरुको जोडीलाई मञ्चमा प्रस्तुत गर्यो। तर, दर्शकले अब यो जोडीलाई सँगै देख्न मुस्किल हुने भएको छ।
उनीहरुको सम्बन्धमा दरार आएको मनोरञ्जन उद्योगमा चर्चा सुरु भएको छ। यी दुईका निकटका साथीहरु उनीहरुले व्यवसायिक सहकार्य तोडेर अलग भएको बताएका छन्।
मनोरञ्जन उद्योगमा सुरु भएकाने चर्चा र उनीहरुका निटकतम साथीहरुको भनाइलाई थप बल दिने गरी यी दुई पनि प्रस्तुत भैरहेका छन्।
‘वान एक्स वेट’ प्रकरणमा यी दुवैले केही साताको हिरासत जीवन बिताए। उनीहरु पक्राउ परेपछि प्रसारण भइरहेका ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियल प्रभावित भए।
उनीहरु रिहा भएपछि पुरानै रफ्तारमा सिरियल आउने आशमा दर्शक थिए। बल्छी धुर्वेले आफ्नो युट्युब च्यानलबाट प्रसारण हुँदै आएको हल्का रमाइलो प्रसारणमा ल्याए।
सिरियलका दुई भाग प्रसारण हुँदा राजु मास्टर देखा परेनन्। राजु मास्टर सिरियलको नयाँ भागमा नदेखिनुले यी दुईको सम्बन्ध चिसिएको हल्लालाई थप पुष्टि गरेको छ।
यता, राजु मास्टरको युट्युबबाट प्रसारण भइरहेको ‘जुठे’ सिरियलको नियमित प्रसारण रोकिएको छ।
बरु राजुले नयाँ सिरियल ‘लफडा’को प्रोमो सार्वजनिक गरेका छन्।
उनले आइतबार मात्रै फेसबुकमा लेखेको स्टाटसमा पनि ‘जुठे’ र आउने तयारीमा रहेको सिरियल ‘लफडा’का बारेमा लेखेका छन्।
तर प्रसारण भइरहेको ‘हल्का रमाइलो’बारे केही लेखेका छैनन्। नयाँ भागमा आफू नदेखिनुको कारणबारेमा पनि केही बोलेका छैनन्।
उनीहरुबीचको यो शीतयुद्ध तीन महिनादेखि चल्दै आएको उनका निकटतम् साथीहरुले बताएका छन्।
उनीहरुको सम्बन्ध आर्थिक कारोबारमा कुरा नमिल्दा चिसिएको बताइएको छ। पछिल्लो समय सिरियलको सम्पादनमा पनि उनीहरू एक्ला-एक्लै पुग्ने गरेका थिए।
Shares

प्रतिक्रिया