राजनीति


कर्णालीका अधिकांश मतदान स्थलमा पुगे कर्मचारी र सुरक्षाकर्मी

कर्णालीका अधिकांश मतदान स्थलमा पुगे कर्मचारी र सुरक्षाकर्मी

दिनेश बुढा
फागुन १९, २०८२ मंगलबार १३:३२, सुर्खेत

प्रतिनिधि सभाको निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रका अधिकांश मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्। 

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशभर रहेका ९४१ मतदानस्थलका एक हजार ४३७ मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीको टोली पुगेको छ। प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशबाट मतपत्र, मतपेटिकादेखि सियो-धागोसम्मका सामग्री बुझेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेको मतदान अधिकृतको टोली सम्बन्धित क्षेत्रमा पुगिसकेको छ।

निर्वाचन गराउन खटिएका टोलीको साथमा रबरको छापदेखि लाहासम्मका ५२ प्रकारका सामग्री छन्। प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर र सिल गर्ने डोरी जस्ता अत्यावश्यक सामानहरू आइतबार नै रुजु गरेर सोमबार बुझाइएको जानकारी दिए। उनका अनुसार सुर्खेतमा सोमबार साँझसम्म सबै कर्मचारी तोकिएको केन्द्रमा पुगिसकेका छन्। 

यस्तै, मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्‍याएको जनाएको छ। सहायक निर्वाचन अधिकृत तहसिलदार शुनिलकुमार खाँणाले जिल्लामा रहेका १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरी १२८ केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ र सुरक्षा व्यवस्था समेत कडा गरिएको जानकारी दिए। 

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको छ भने केही विकट बस्तीमा सामग्री ढुवानीका लागि पैदल र घोडारखच्चड प्रयोग गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन्। जिल्लाका ११७ मतदान स्थलअन्तर्गत २०५ मतदान केन्द्रका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री सुरक्षित रूपमा पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। निर्वाचनका लागि जिल्लाभर ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाइएको छ। 

सुरक्षा व्यवस्थापनका लागि नेपाली सेनाको टोली १३ स्थानमा परिचालन गरिएको छ भने एक हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब एक हजार सुरक्षाकर्मी परिचालन भएका छन्। सल्यानमा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन्। 

यस्तै, ७६ मतदानस्थल रहेकामा १४० स्थायी र दुई अस्थायी गरी १४२ मतदान केन्द्र रहेका रुकुम पश्चिममा निर्वाचन सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसेका छन्। रुकुम पश्चिमबाट एक लाख ६ हजार ६६० जना मतादाताले निर्वाचनमा भाग लिँदै छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले पनि जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको जनाएको छ। जिल्लाका सात वटा स्थानीय तहअन्तर्गत रहेका ८८ मतदान स्थलका १४७ मतदान केन्द्रमा तोकिएका कर्मचारी पुगिसकेका छन्।

निर्वाचनलाई सम्पन्न गराउन जाजकोटमा ८७९ कर्मचारी, सुरक्षातर्फ नेपाल प्रहरी ५२८, नेपाल प्रहरीतर्फका निर्वाचन प्रहरी ४८६, सशस्त्र प्रहरी १८९, सशस्त्र प्रहरीतर्फका निर्वाचन प्रहरी ९६ र ६ सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जिल्लाका माथिल्लो भेगमा हेलिकप्टरमार्फत कर्मचारी मतपत्रसहित निर्वाचन सामग्री लिएर कर्मचारीहरु पुगेको जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत बरालका अनुसार नाम्खा गाउँपालिकाको लिमी लगायतका स्थानमा हेलिकप्टरबाटै कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुर्‍याइएको छ।

यस्तै, कर्णालीका हिमाली जिल्लाका अति दुर्गम ठाउँमा भने पैदल जान सम्भव नभएपछि हेलिकप्टरको सहारा लिइएको छ। हुम्लाका आठ, डोल्पाका २० र मुगुका तीन मतदान केन्द्रमा कर्मचारी र सामग्री हेलिकप्टरबाटै पुर्‍याइएको छ। 

कर्णाली प्रदेशभरिको सुरक्षा अवस्था अलि चुनौतीपूर्ण देखिएको छ। कुल ९४१ मतदान स्थलमध्ये ७७९ वटा स्थल संवेदनशील सूचीमा छन्। जसमध्ये ३५९ स्थल अति संवेदनशील, ४२० स्थल संवेदनशील र जम्मा १६२ स्थल मात्रै सामान्य छन्। 

त्यस्तै, एक हजार ४३७ मतदान केन्द्रमध्ये एक हजार एक सय मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका छन्। कूल १० लाख ३७ हजार २५० जना मतदाता रहेको कर्णालीमा १२ वटा सिटका लागि १३२ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad