नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवनप्रसाद आचार्य विजयी भएका छन्। प्रतिस्पर्धामा उत्रिएका पाका नेता दीपक पौडेललाई ६७ मतले पराजीत गर्दै उनी एमाले पोखराको कमाण्डर बनेका हुन्।
दोस्रो नगर महाधिवेशनअन्तर्गत विद्युतीय भोटिङ मेसिनमार्फत् भएको मतदानमा आचार्यले २७७ र पौडेलले २१० मत प्राप्त गरे। यसअघिको नगर कमिटीका सचिव रहेका जीवनलाई स्थायी समिति सदस्य खगराज अधिकारी समूहको बलियो साथ थियो।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराजको समर्थनमा दुबै प्रतिस्पर्धी गुट नै बनाएर मैदानमा उत्रिएका थिए। जीवनको गुटका सबैजसो यो चुनावमा विजयी बने।
उपाध्यक्षमा विजयी नरेन्द्रनाथ ढुंगानाले २८४ मत पाउँदा प्रत्यासी मोहन गुरुङले २०३ मत ल्याए। सचिवमा सुशील बस्नेत २६७ मत ल्याएर विजयी बने। पराजीत बनेका दीनेशबाबु खड्काले २२० मत प्राप्त गरे।
खुल्लातर्फको उपसचिवमा ३१० मतसहित विष्णुप्रसाद गौतमले बाजी मारे महिलातर्फको उपसचिवमा हरिमाया विश्वकर्माले २९० मत ल्याउँदा प्रत्यासी किरण गौतमले २०७ मत प्राप्त गरिन्।
१ सय १ सदस्यीय नगर कमिटीका अधिकांश सदस्यमा पनि जीवन पक्षधर नै विजयी बनेका छन्। कुल ४९८ मतदाता रहेको नगर निर्वाचनमा ४८७ मत खसेको थियो।
Shares
प्रतिक्रिया