राजनीति


झलनाथले भने : गठबन्धनको टिमलाई सुरुबाटै हराउन लागे, कानुनी उपचारमा जान्छु

झलनाथले भने : गठबन्धनको टिमलाई सुरुबाटै हराउन लागे, कानुनी उपचारमा जान्छु

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १७:४, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ आफूलाई हराउन सुरुदेखि नै केही तत्वहरु सक्रिय भएको बताएका छन्।

आफूलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई बधाई दिँदै उनले यस्तो बताएका हुन्।

'मतदान प्रक्रिया शुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नुपर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ', उनले भने, 'ती मतपत्रहरु कसरी गायब भए? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन। त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ।'

उनले सत्ता गठबन्धनको साझा उम्मेदवार आफूलाई हराउने योजना नै बनाइएको पनि दाबी गरेका छन्। 

‘त्यस निर्वाचन प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा रहेको थिएँ', उनले भनेका छन्, 'तर हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावनामाथि कुठाराघात गर्न केही तत्वहरू सुरु देखिनै लागि रहेका थिए।’

खनालले मतदातालाई धन्यबाद दिँदै इलामको प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले नतिजा घोषणा गरे पनि गम्भीर विवाद यथावत रहेको तर्क गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .