ad ad

राजनीति


एमालेका झपटलाई झड्का दिँदै नागरिक उन्मुक्तिका अरुणकुमार विजयी

एमालेका झपटलाई झड्का दिँदै नागरिक उन्मुक्तिका अरुणकुमार विजयी

फाइल तस्बिर : अरुणकुमार चौधरी


गोकुल जोशी
मंसिर ९, २०७९ शुक्रबार १५:१६, कञ्चनपुर

कैलाली क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका चौधरी २१ हजार ८७१ मतसहित विजयी भएका हुन।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतले पछि पारे। एमालेका रावलले १६ हजार १२ मत प्राप्त गरे।

यस्तै सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार ११६ मत प्राप्त गरे।

उहिले झिनो मतान्तरले चुके, अहिले भारी मतले जिते
प्रतिनिधि सभामा विजयी भएका चौधरी अघिल्लोपटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्कीचुहा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए। तर उनी त्यस बेला सफल हुन सकेनन्।

उनी दुवै पटक झिनो मतान्तरले पराजित भए। ०७४ सालमा लम्कीचुहाको मेयरमा एमालेका महादेव बजगाईं ७ हजार १८८ मत ल्याएर विजयी हुँदा फोरम लोकतान्त्रिकबाट निर्वाचनमा होमिएका चौधरीले ६ हजार २२२ मत पाएका थिए।

फोरम लोकतान्त्रिक र कांग्रेसको २०७४ असोज ३० गते एकता भएको थियो। त्यसपछि चौधरी कांग्रेसबाट प्रदेश २९२० मा उम्मेदवार बने। एमाले र माओवादीको वाम गठबन्धनसंग चौधरी ८४४ मतले पराजित भए।

त्यो बेला वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउदले १२ हजार ७७ मत ल्याएका थिए। कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए। 

मेयर र प्रदेश सभामा झिनो मतान्तर चुकेका उनै चौधरीले यसपटक नागरिक उन्मुक्तिबाट ठूला राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिँदै इतिहास रचेका छन्।

चौधरीसँग पराजित भएका एमालेका रावल ०७४ को चुनाव जितेका थिए। यस्तै माओवादीका बढुवाल संविधान सभा सदस्य हुन। यो संगै कैलालीको प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्तिले तीन क्षेत्र जितेको छ।

चुनावी इतिहास
कैलाली २ मा बहुदल आएपछिका तीन निर्वाचन जितेको कांग्रेसबाट तीनैपटक रामजनम चौधरी निर्वाचित भए।

०४८ मा नेकपा एमालेका गणेशमान सोवलाई १४ हजार ४०७ मतले पराजित गर्दै कांग्रेसका चौधरी विजयी भए। उनै चौधरीले ०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनराज मल्ललाई ४ हजार २१६ मतले हराए।

०५६ सालको निर्वाचनमा चौधरीले ०५१ कै प्रतिस्पर्धी राप्रपाका मल्ललाई ८ हजार ६८३ मतले पराजित गरेका थिए। त्यसबेला नेकपा एमालेका मोहनसिंह राठौर मतका आधारमा तेस्रो स्थानमा थिए।

कांग्रेसलाई ०६४ मा ठूलो झट्का लाग्यो। कांग्रेसको अपराजित यात्रा यो चुनावमा तेस्रोमा सीमित भयो। माओवादीका भगतबहादुर बढुवालले एमालेका मोहनसिंह राठौरलाई १० हजार ६१० मतले पराजित गरे। 

०७० सालमा पहिलो पटक यो क्षेत्रमा एमाले विजयी भयो। त्यसबेला एमालेका राठौरले पार्टीलाई तेस्रो हारबाट बचाए। कांग्रेसका कमलबहादुर शाहलाई ३ हजार ५३६ मतले उछिनेर राठौर विजयी भएका थिए।

०७४ सालमा पनि यो क्षेत्रमा एमालेले जित हासिल गरेको थियो। तीन पटकसम्म लगातार टिकट पाएर एक पटक जितेका मोहनसिंह राठौरले ०७४ मा टिकट पाएनन्। 

आफू राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका झपटबहादुर रावलले टिकट पाउने भएपछि राठौरले एमाले छाडे। उनी एमालेविरुद्ध कांग्रेसबाट उम्मेदवार बनेका थिए। तर, आफ्ना पूर्वस्वकीय सचिव रावललाई रोक्न सकेनन्।

त्यस बेला वाम गठबन्धनबाट उम्मेदवार बनेका रावलले राठौरलाई २ हजार ८४४ मतले पराजित गरेका थिए। रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .