बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गराउन नेपाली कांग्रेसले आफ्ना सम्पूर्ण प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।
शनिबार हेटौँडामा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको विशेष उपस्थितिमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको हो। बैठकले कांग्रेस प्रदेश कार्यसमिति र संसदीय दलको सहमतिमा बजेट प्रस्तुत हुनुअघि गठन गरिएको बजेट निर्माण सहजीकरण कार्यदलले दिएको सुझाव र पार्टीको नीति तथा प्राथमिकता अनुरूप नै आर्थिक वर्ष २०८३/८४ को बजेट तयार भएको निष्कर्ष निकालेको छ।
कांग्रेसका सहमहामन्त्री तथा बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले बजेट निर्माणका क्रममा विभिन्न पक्षसँग छलफल गरी दिएका सुझावलाई बजेटमा समेटिएको बैठकको निष्कर्ष छ।
सोही निष्कर्षका आधारमा आज बस्ने बागमती प्रदेश सभा बैठकमा बजेट पारित गराउन कांग्रेसका सम्पूर्ण प्रदेश सभा सदस्यको अनिवार्य उपस्थितिका लागि ह्विप जारी गर्ने निर्णय गरिएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठकले संसदीय दलको बैठक सहजीकरण गरी दलभित्र सहमति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महामन्त्री घिमिरेलाई धन्यवाद पनि दिएको छ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पक्ष र पूर्वमुख्यमन्त्री लामा निकट सांसदबीच बजेट निर्माण प्रक्रिया र योजनाको बाँडफाँटलाई लिएर असन्तुष्टि देखिएको थियो। सोही विवादका कारण केही सांसदले संसदीय दलको बैठक तथा प्रदेश सभा बैठकसमेत बहिष्कार गरेका थिए।
आज बसेको संसदीय दलको बैठकले बजेट पारित गर्ने स्पष्ट निर्णय गरेसँगै प्रदेश सभामा बजेट अनुमोदनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया