धादिङ-१ बाट निर्वाचित सांसद आशिका तामाङ सोमबार दिउँसो महाधिवेशनस्थलमा प्रवेश गरिन्। गलामा केन्द्रीय सदस्यको उम्मेदवार आशिका तामाङलाई मत दिनुस् लेखिएको कार्ड लगाएर उनी महाधिवेशन स्थलमा आइन्।
उद्योग प्रदर्शनी केन्द्रको गेटभित्र केही बेर प्रतिनिधिको भिडभाड नै लाग्यो। भित्र प्रवेश गर्नेलाई बिचमै रोकेर उनले मत मागिन्। उनीजस्तै मत माग्न व्यस्त थिइन्- संघीय मामिलामन्त्री प्रतिभा रावल।
रास्वपाको उपसभापतिमा दाबी बढाइहेकी उनले केन्द्रीय सदस्यमा मत दिएर जिताइदिन आग्रह गर्दै हिँडिरहेकी छन्।
सांसद निशा डाँगीदेखि तोसिमा कार्कीसम्म मत माग्नमै व्यस्त देखिन्छन्।
अनि सांसद र मन्त्रीहरूले पदको लोभ गरेर मत मागिरहेको देख्दा देशभरबाट आएका प्रतिनिधि दंग परेर हेरिरहेका छन्।

मन्त्री र सांसद भइसकेको मान्छे पार्टीको कार्यसमितिमा लोभ गर्नु ठिक नभएको झापाबाट आएकी जेनजी प्रतिनिधि आकांक्षा बताउँछिन्।
लोकतान्त्रिक पद्धतिमा जसले दाबी गर्न पाए पनि नैतिकताका आधारमा नयाँलाई पालो दिनपर्ने उनको भनाइ छ।
यस्तै मधेस प्रदेशको रौतहटबाट प्रतिनिधि आएका गजेन्द्र ठाकुर सरकारमा पुगिसकेको मान्छेले सरकारको जिम्मेवारीलाई बलियो बनाउन लाग्नुपर्ने बताउँछन्।
‘रास्वपालाई सरकारमा पठाउन हिमाल, तराई, पहाड सबैतिरको मत खन्याएर हामीले जिताएरै पठायौँ, अब उहाँहरू हामीसँगै जोरी खोज्न प्रतिस्पर्धामा उत्रन खोज्नुहुन्छ भने हामी के भनौँ’, उनले नेपालखबरसँग भने, ‘देशको बागडोर सम्हाल्न दुईतिहाइ पुर्याइदियौँ। पार्टीले पनि एउटा विधान बनाएर माननीय र मन्त्री भइसकेको मान्छेलाई जनताको काम गर्न भनेर अन्यलाई अवसर दिनुपर्ने हो।’
मत दिएर जिताएर जनताको काम गर्न पठाएपछि पदको लोभमा नलागेर सरकारको भूमिका बलियो बनाउनपर्ने उनको भनाइ छ।
गण्डकी प्रदेशबाट प्रतिनिधि आएका मोहनलाल श्रेष्ठले पनि सांसद र मन्त्रीको कारण अन्य आकांक्षीहरू छायामा पर्ने चिन्ता बढेको बताए।
‘अहिले प्रतिनिधिहरूको कार्ड विततरण हुँदै छ, सोपश्चात्को कुन पदको उम्मेदवार भन्ने थाहा होला’, उनले भने, ‘उम्मेदवार बन्न पाउने सबैको अधिकार हुन्छ। उहाँहरूले पनि त्यही अधिकार खोज्नु भएको होला। तर मलाई लाग्छ- उम्मेदवारको संख्या धेरै भएपछि सांसद र मन्त्रीज्यूहरूले केन्द्रीय सदस्य पदबाट ब्याक हुनुहुन्छ होला।’
रोल्पाबाट आएकी हीरा खड्कालाई माननीयहरूले मत माग्दै हिँडेको मन पराएकी छैनन्। सरकारमा रहेका मान्छेले पदमा लोभ देखाउन ठिक नभएको उनी बताउँछिन्।
‘सभापतिज्यू, वरिष्ठ नेता र केही शीर्ष नेताज्यूहरू त आउनै परिहाल्यो, तर धेरै जसो माननीय र मन्त्रीले दाबी गरेको सुहाएकै छैन’, उनले भनिन्, ‘देशभरबाट आएका यत्तिका प्रतिनिधिको बारेमा पनि सोच्नुपर्ने हो। उहाँहरू यसै चर्चामा हुनुहुन्छ उहाँले जितिहाल्नुहुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा मन्त्री, सांसद तथा विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले समेत नयाँ कार्यसमितिमा स्थान सुरक्षित गर्न मत मागिरहँदा यसले पार्टीभित्र अवसरको समान वितरण र नेतृत्व हस्तान्तरणको विषयमा बहस सिर्जना गरेको छ।
पार्टीका केही प्रतिनिधिहरूले अहिले नै सांसद, मन्त्री वा अन्य महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरू पुनः केन्द्रीय नेतृत्वमा दाबी गर्दा नयाँ पुस्ता र अन्य प्रतिनिधिका लागि अवसर खुम्चिने बताएका हुन्।
सीमित व्यक्तिहरूमा शक्ति र जिम्मेवारी केन्द्रित हुँदा पार्टीले उठाउँदै आएको समावेशिता, अवसरको समानता र नयाँ नेतृत्व विकासको अवधारणामै प्रश्न उठ्न सक्ने उनीहरूको चिन्ता छ।
आकांक्षी नेताहरू भने पार्टीको संगठन निर्माण, अनुभव र नीतिगत नेतृत्वका लागि आफूहरूको भूमिका आवश्यक रहेको भन्दै प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
तर, महाधिवेशनको माहोल हेर्दा ‘एक व्यक्ति-एक जिम्मेवारी’को बहस प्रतिनिधिहरूमाझ प्रमुख एजेन्डाका रूपमा देखिन थालेको छ।
नयाँ कार्यसमितिमा पुराना र स्थापित नेताको निरन्तरता कि नयाँ पुस्ता र नयाँ अनुहारको उदय भन्ने विषयले महाधिवेशनको चुनावी परिणामलाई समेत प्रभाव पार्ने देखिएको छ।
Shares

प्रतिक्रिया