राजनीति


मकवानपुरका लागि लवशेर विष्टले ल्याए छुट्टै प्रतिबद्धता

मकवानपुरका लागि लवशेर विष्टले ल्याए छुट्टै प्रतिबद्धता

नेपालखबर
फागुन १८, २०८२ सोमबार १३:६, हेटौंडा

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर-२ मा उम्मेदवार लवशेर विष्टले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। 

सोमबार पत्रकार सम्मेलन गरी विष्टले मकवानपुर-२ को समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनले गाँजा खेतीलाई कानुनी मान्यता दिलाई आयआर्जनको भरपर्दो स्रोतका रूपमा विकास गर्न पहल गर्ने बताए। मकवानपुर-२ मा परम्परागत रूपमा हुँदै आएको गाँजा खेतीलाई वैधानिकता दिलाउन आफूले संसदमा कानुन संशोधनका लागि पहल गर्ने उनले जनाएका छन्। 

त्यस्तै, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने उनले बताएका छन्। प्रचलित कानुन परिमार्जन गरी लालपूर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाइने र एकीकृत बस्ती विकासको अवधारणालाई अघि बढाइने उनको भनाइ छ।

नदी तटीय क्षेत्रका बस्ती संरक्षण, झोरा नियन्त्रण तथा सुरक्षित मानव बस्ती विकासमा विशेष पहल गर्ने जनाएका छन्। शिक्षा क्षेत्रमा गुणस्तरीय र सर्वसुलभ पहुँच सुनिश्चित गरिने उनको प्रतिबद्धता छ। 

भौतिक पूर्वाधारतर्फ चित्लाङ-चन्द्रागिरी सुरुङमार्ग निर्माणमा पहल, आवश्यक स्थानमा पुल तथा भवन निर्माणलाई प्राथमिकता दिइने उनले बताएका छन्। मकवानपुर-२ का पर्यटकीय क्षेत्रको संरक्षण र प्रबर्द्धनमा जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ।

यस्तै, खेलकुद पूर्वाधार विकास, खेतीयोग्य जमिनमा सिंचाइ सुविधा विस्तार, कृषिमा आधुनिकीकरण तथा किसानलाई समयमै बिउ-मल उपलब्ध गराउने व्यवस्था मिलाइने उनले बताए। स्वास्थ्य क्षेत्रमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरी सहज र छरितो सेवा प्रवाह सुनिश्चित गरिने पनि उनको प्रतिबद्धता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad