ad ad

राजनीति


बागमतीको नीति, कार्यक्रमप्रति विपक्षी दलहरुको असन्तुष्टि

‘जनताको आँखामा छारो हाल्ने कार्यक्रमले मन जित्न सक्दैन’
बागमतीको नीति, कार्यक्रमप्रति विपक्षी दलहरुको असन्तुष्टि

सुनिता विष्ट
जेठ १५, २०८१ मंगलबार ८:५८, हेटौँडा

बागमती प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलहरुले असन्तुष्टि जनाएका छन्।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेको १८६ बुँदाको नीति तथा कार्यक्रममा प्रदेश योजना बैंक स्थापनादेखि विद्युतीय सबारीलाई प्रोत्साहानसम्मका कार्यक्रम समेटिएका छन्।

त्यसैगरी नीति कार्यक्रममा खेलकुद क्षेत्रको भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ। सत्तापक्षका सांसदले सरकारको नीति कार्यक्रमलाई ठिक भनिरहँदा प्रतिपक्षी दलहरु भने सन्तुष्ट देखिएका छैनन्।

बागमती प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रतिपक्षी दलका सांसदले असन्तुष्टिको भाव देखाएका थिए। तर, सरकार पक्षका सांसद भने उत्साहित देखिएका थिए। 

सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनअपेक्षालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नभएको भन्दै प्रतिपक्षी दलहरुले असन्तुष्ट जनाएका हुन्। 

प्रदेश सरकारले हरेक पर्ष ल्याउने नीति तथा कार्यक्रम एउटै खालको भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दाबी छ। 

‘नीति तथा कार्यक्रममा केही नयाँपन भेटिएलान् कि भनेर पूरै सुनेँ। तर केही नयाँपन भेटिएन,’ नेमकिपा बागमती  संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले भने, ‘सरकारले जनताको आँखामा छारो हाल्ने कार्यक्रम ल्याएको छ। नौलो ‘भिजन’ नै छैन। यसले जनताकाे मन छुन सक्दैन।’

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारले ल्याएको यो नीति तथा कार्यक्रम चित्त बुझ्दो नभएको जनाएको छ। ‘नीति तथा कार्यक्रम सन्तुलित छैन,’ राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने, ‘आगामी बजेटको कार्यान्वयन पक्ष सार्है कमजोर हुने देखिएको छ। यो नीति तथा कार्यक्रमलाई अनुकुल हुनेगरी बजेट कस्तो आउला, त्यो हेर्न भने बाँकी छ।’
 
उनले नीति तथा कार्यक्रममा सबैलाई समेट्नुपर्नेमा त्यो हुन नसकेको आरोप लगए। ‘बजेट ल्याउँदा सत्तापक्ष हाबी हुने खतरा देखिन्छ। बागमतीमा विगतमा जे कार्यक्रम ल्याइएको थियो, त्यसलाई कार्यान्वयन गरेर गए मात्रै सरकारले ल्याएको कार्यक्रमले सार्थकता पाउँछ,’ उनले भने। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यो नीति तथा कार्यक्रम काम चलाउनका लागि मात्रै भएको दाबी गरेको छ। सरकारले ल्याएको कार्यक्रमबाट जनता उत्साहित नहुने कांग्रेसका नेताको तर्क छ। 

‘यो नीति कार्यक्रमबाट मन्त्रीहरु मात्रै उत्साहित देखिएका छन्। यसले जनताको भवनालाई सम्बोधन गर्न सकेको छैन,’ कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने,
‘बागमती प्रदेशका जनता उत्साहित हुने खालको ठोस कार्यक्रम प्रदेश सरकारले ल्याएको पाइएन।’

उनले मन्त्रीहरु उत्साहित देखिनु तर जनतामा कुनै आशा जगाउनु नसक्नु सरकारको असफलता भएको तर्क उनको छ। ‘नीति तथा कार्यक्रम प्रस्तुत हुँदैगर्दा सत्तापक्षका सांसदले धेरै टेबल ठोक्नुभयो। तर भित्रभित्रै सरकार पक्षकै सांसदहरु पनि उदासिन देखिनुभयो। उहाँहरु उत्साहित भएजस्तो हामीलाई लागेन।’

उनले समग्रमा यो नीति तथा कार्यक्रम केही बिषयमा गम्भीर रहेको पनि तर्क गरे। ‘उद्योग स्थापनादेखि रोजगारीसम्मका बिषयलाई नीति कार्यक्रमले समेट्नु खुसीको कुरा हो। तर त्यो कार्यान्वयनमा जान्छ भन्ने मलाई लाग्दैन। किनभने त्यहाँ सिलिङ थोरै मात्रै छ।’

यता, आफूहरुले बनाएको नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरुसँगको छलफलमै तयार भएको सरकार पक्षको दाबी छ। नीति कार्यक्रममा केही शब्द र वाक्य पूराना भएपनि कार्यक्रमहरु नागरिकमुखी भएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको दाबी छ। 

‘विपक्षीको काम राम्रो नदेख्ने, नराम्रोलाई मात्रै केलाएर हेर्ने खालको छ,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘नीति तथा कार्यक्रम समग्र प्रदेशका नागरिकको पक्षमा ल्याएका छौँ।’

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उत्पादनमुखी बजेट ल्याउने तयारी गरिरहेको मन्त्रीहरले बताउने गरेका छन्। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा टेकेर ल्याइने बजेट आगामी असार १ गते सदनमा प्रस्तुत हुने छ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .