राजनीति


सी भ्रमणको क्रममा रेलसेवामा महत्वपूर्ण समझदारी: भट्टराई

सी भ्रमणको क्रममा रेलसेवामा महत्वपूर्ण समझदारी: भट्टराई

नेपालखबर
असोज २२, २०७६ बुधबार १०:०,

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने पनि बताए। चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुँदैछ।

सोही विषयमा केन्द्रित भएर बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाईन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र नयाँ आयाम थपिने पनि बताए। उनले राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने पनि बताए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए। चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि भारी वृद्धि हुने उनको विश्वास छ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै मुलुकको आवश्यक्तालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए। नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एशीयाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने पनि उनको भनाई छ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो। राष्ट्रपति विद्या भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad