राजनीति


बलात्कार आरोपी महरा पक्राउ गर्न अदालतको अनुमति

बलात्कार आरोपी महरा पक्राउ गर्न अदालतको अनुमति

नेपालखबर
असोज १९, २०७६ आइतबार ९:४२,

बलात्कार अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

शुक्रबार पीडित महिला रोशनी शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरी आधारमा प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

‘आइतबार ब्रजेश प्याकुरेल श्रीमानको इजलासले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो’, अदालत कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले नेपालखबरसँग भने, ‘प्रहरीले अब आफ्नो अनुसन्धान गर्नेछ। त्यसपछि सरकारी वकिलमार्फत मुद्दा अदालत आउनेछ।’ 

आइतबार अदालतले प्रहरीको माग बमोजिम महरालाई पक्राउ गर्न अनुमति दिएको हो। अनुमति पाएसँगै प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको छ।

प्रारम्भिक अनुसन्धनबाट असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको भाडाको कोठामा गएको पुष्टि भएको छ। जाहेरीपछि पीडित महिलाको स्वास्थ्य जाँच गरी मुद्दा प्रक्रिया अघि बढाएको हो।

बलात्कार आरोप सार्वजनिक भएपछि एक साताअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उनलाई संसद तथा सभामुख पदबाट राजीनामा दिई छानिबनमा सहयोग गर्न आग्रह गरेको थियो। सभामुख पद छोडे पनि सांसद पद भने उनले त्यागेका छैनन्।

महरा पीडितको कोठामा जाँदाको सीसीटीभी फुटेजसमेत प्रहरीले पाएको छ। महराले प्रयोग गर्ने मोबाइलको कलअनुसारको लोकेसन समेत संकलन गरेको छ।

आइतबार राति घटना भए लगत्तै शाहीले प्रहरीको इमर्जेन्सी हटलाइन १०० मा फोन गरी सभामुखले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन्। सो जानकारी पाए लगत्तै वानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएको थियो।

घटनास्थलबाट महराले पिएको रक्सको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तुलवा बरामद गरेको थियो। ती सामग्रीको फोरेन्सिक जाँच भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad