राजनीति


सी भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुनेछः पर्यटनमन्त्री भट्टराई

सी भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुनेछः पर्यटनमन्त्री भट्टराई

नेपालखबर
असोज १८, २०७६ शनिबार ११:५८,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालतर्फ चीन र विश्वको ध्यान खिच्ने र त्यसले नेपालको प्रवर्द्धन हुने विश्वास सरकारले लिएको छ।

चीनका राष्ट्रपति सीको आसन्न भ्रमणले नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि सहयोगी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।

मन्त्री भट्टराईले विगतमा पनि ठूला नेताहरुले नेपाल भ्रमण गरेपछि पर्यटन क्षेत्रमा सहयोग पुगेको उदाहरण प्रस्तुत गर्दै चिनियाँ शीर्ष नेताको भ्रमणले भ्रमण वर्ष २०२० लाई सफलता बनाउन सहयोगी हुने बताए।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ, जनकपुर र पशुपती तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरको भ्रमण गरेपछि ती स्थानमा अहिले भारतीय पर्यटकको संख्या निकै बढेको छ’, शनिबार नेपालखबर कार्यालयमा मन्त्री भट्टराईले भने, ‘राष्ट्रपति सीको भ्रमणपछि चिनियाँ पर्यटकको संख्या निकै बढ्ने विश्वास लिएका छौँ।’

Yogesh3

मन्त्री भट्टराईले सी विश्वभर चर्चाको शिखरमा रहेको र उनले कुन देशको भ्रमण गरे भन्ने विषयमा चीन मात्रै होइन विश्वभर नै चासो हुने हुँदा त्यसबाट नेपाल प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने बताए।

अगामी वर्ष सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष, २०२० को घोषणा गरेको छ। जुन लक्ष्य पूरा गर्नका लागि चिनियाँ पर्यटकको संख्या उल्लेख रुपमा वृद्धि हुनुपर्ने हुन्छ।

सी भ्रमण तालिका औपचारिक रुपमा घोषणा नभए पनि असोज २५ मा उनी नेपाल आउने निश्चित भएको छ। २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखले नेपाल भ्रमण गर्न लागेका हुन्। राष्ट्रपति सीको पहिलो नेपाल भ्रमणका लागि सरकारले तयारी तीब्र बनाएको छ।

मन्त्री भट्टराईले चीनसँग हालै भएको हवाई सम्झौताले नेपाल र चीन दुवैतर्फ हवाई सम्पर्क बढाउने विश्वास व्यक्त गरे।

‘हामीले लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चिनियाँ वायुसेवा कम्पनीहरुले नियमित रुपमा उडान गर्ने प्रक्रिया शुरु गरिरहेका छौं। चीनका ६ वटा शहरबाट अब १५ वटा शहरमा सिधा हवाई सम्पर्क विस्तार हुनेछ,’ भट्टराई भने, ‘बेइजिङमा रहेको नेपाली दूतावास तथा ल्हासा, हङकङ र ग्वान्झाओमा रहेका महावाणिज्य दूतावासहरूले चीनमा नेपालको पर्यटन प्रवद्र्धन गरिरहेका छन्। चीनका विभिन्न शहरमा भिसा सेन्टर स्थापना गर्ने काम पनि भइरहेको छ।’

मन्त्री भट्टराईले नागरिक उड्यनका पूर्वाधार निर्माण क्षेत्रमा चिनियाँ कम्पनीहरुले महत्वपूर्ण योगदान दिएको बताए।

‘चिनियाँ कम्पनीहरुले नेपालमा समयमा काम सक्दैनन् भन्ने आरोप लाग्दै आएको थियो तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत गर्नेदेखि अन्य काममा चिनियाँ कम्पनीले तोकिएको समयभन्दा अघि नै काम सकेका छन्’, भट्टराई नेपालखबरसँग भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत गर्ने चिनियाँ कम्पनीहरुले निर्धारित समयभन्दा तीन महिनाअघि नै काम सकेका छन्। अहिले ट्याक्सी वे मर्मत भैरहेको छ भने चाँडै पार्किङ वे पनि मर्मत गर्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ।

Yogesh2

अस्ट्रेलियामा चाँडै उडान
भट्टराईले काठमाडौं र अस्ट्रेलियाका विभिन्न शहरबीच चाँडै सिधा उडान हुने खुलाए।

‘अस्ट्रेलिया नेपाल वायु सेवा नियमका लागि एउटा प्रमुख गन्तव्य बन्दैछ। केही समयपछिबाट सिड्नीसहितका गन्तव्यमा हप्तामा सात वटा उडान हुने छ भने अस्ट्रेलियाका शहरबाट काठमाडौं विमानस्थलमा पनि सात उडान हुनेछ’, भट्टराईले भने, ‘अष्ट्रेलियाबाट लुम्बिनी र पोखरामा हप्तामा २८ वटा उडान हुनेछ, यसरी चाँडै नै अस्ट्रेलिया नेपाल वायुसेवाको एउटा प्रमुख गन्तव्य बन्दैछ।’

यसै महिनाको सुरुमा क्यानडाको मोन्ट्रियलमा विश्व हवाई उड्यान संगठन (आईकाओ) को सम्मेलनको क्रममा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो। सम्मेलनलाई मन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad