पछिल्लो समय उत्तर कोरियाली लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै समयमा दुबै देशका वरिष्ट अधिकारीहरु वार्ताका लागि भेला भएका हुन्।
उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरिरहेका छन्।
स्वीडेनकी विदेशमन्त्री आन लिन्डले अमेरिकी र उत्तर कोरियाली अधिकारीहरुले स्वीडेनलाई वार्तास्थल छनौट गरेकामा प्रसन्नता व्यक्त गरेका छन्। उनले आणविक निःशस्त्रीकरण र शान्तिपूर्ण समाधानका लागि संवाद नै एकमात्र उपयुक्त विधि रहेकामा जोड दिए।
उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा यस्तै किसिमका वार्ता सन् २०१८ र यसैवर्षको जनवरीमा पनि स्वीडेनमा भएका थिए।
उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ। विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन्।
उत्तर कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो। स्वीडेन प्रस्थान गर्नुअघि बेइजिङमा कुरा गर्दै उत्तर कोरियाली वार्ता टोलीका नेता किम म्योङ गिलले वार्ताप्रति आफूहरु निकै आशावादी रहेको बताएका छन्।
संयुक्तराज्य अमेरिकाले पनि वार्ता पुनः शुरु हुने आशा व्यक्त गरेको थियो। तर भियतनामको हनोईमा सम्पन्न दोस्रो उच्चस्तरीय वार्ता भंग भएपछि दुबै देशबीच औपचारिक वार्ताहरु हुन सकेका छैनन्।
तर उत्तर कोरियाले जल पनडुब्बीबाट नयाँ हातहतियारको सफल परीक्षण गरी आफूहरु हतियारको विकासका सन्दर्भमा नयाँ युगमा प्रवेश गरेको जनाएको छ। तर अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियाले पनडुब्बीबाट नभई समुद्री सतहबाट क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले गरिरहेका सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी भइरहेको बताउँदै आएका छन्।एएफपी

प्रतिक्रिया