वडादशैँको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।
गोरखाबाट ल्याइएको फुलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैँ घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आरधना गरी भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेको थियो।
परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने गरिन्छ। यसको महत्व र चर्चा पनि बेग्लै छ। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको हो। गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दशैँघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन छ।
समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो।
समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो।
नेपाली सेनाले दसैंको फुलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्ष बढाई गर्दछ। यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फुलपाती भित्र्याउने गरिन्छ।

प्रतिक्रिया