चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दक्षिण एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र भएको बताएका छन्।
सोमबार काठमाडौँको होटल याक एन्ड यतीमा सुरु भएको दुवै देशका कम्युनिस्ट पार्टीको ‘विचारधारात्मक छलफल कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विदेश विभाग प्रमुख ताओले नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएका कारण आफूहरु बीरआरआई प्रोजेक्ट लिएर आएको बताए।
‘नेपाल साउथ एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र हो’, विदेश विभाग प्रमुख सोङले भने, ‘त्यसैले हामीहरु बीआरआई पोजेक्ट लिएर आएका हौँ।’
उनले आफूहरु नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताए।
विदेश विभाग प्रमुख सोङले दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीहरु मिलेर जनताको विश्वास जितेर अगाडि जान सक्नुपर्ने बताए।
‘केही वर्ष यता नेकपाले पनि जबज र २१ औँ शताब्दी को जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो’, सोङले भने, ‘सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउछ।’
नेकपाले पनि जनताको विकासलाई अगाडि बढाउँदै गरेको बताउँदै उनले चीन नेपाललाई सहयोग गर्न तयार रहेको बताए।
विदेश विभाग प्रमुख सोङले चिनियाँ कम्युनिस्ट पार्टी पहिलेभन्दा कडा नीति लिएर आउन लागेको जानकारी दिए। उनले आफ्नो पार्टीले आत्मक्रान्ति गर्न लागेको जानकारी दिए।
उनले चीन काठमाडौामा आएर सिकाउन र सँगै काम गर्न तयार रहेको बताए। ‘हामी समावेशी र आपसी हितयुक्त काम गर्नेछौँ’, उनले भने, ‘ सी जिनपिङले नेपालसँग हातमाहात मिलाएर काम गर्न चाहन्छन्।’

प्रतिक्रिया