सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।
सोमबार साँझ राजधानीको होटल याक एन्ड यतीमा दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रम सुरु भएको हो। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘विचारधारात्मक छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा सी चिङपिङ विचारधारबारे चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो धारणा राख्नेछ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाली नेताहरुले मन्तव्य राख्ने छन् भने छलफल सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले बोल्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
सो अन्तरक्रिया कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सोमबार दिउँसो नेपाल आइपुगेका हुन्। यसअधि नै सोही कार्यक्रममा सहभागी हुन ४० सदस्यीय टोली नेपाल आएको थियो।

सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस हुने छ।
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपाली चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो।
कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।
दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन्, जसलाई चीनमा माओत्सेतुङपछिकै वैचारिक विकास मानिएको छ।
माओपछि सीलाई नै चीनको नेताका रुपमा स्थापित गर्नेगरी उनको विचारलाई अहिले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गरिँदै छ।
संभवतः त्यही क्रममा नेपालमा पहिलो पटक सी विचारधाराबारे दुई पार्टीबीच यो स्तरमा बहस हुन लागेको हो।

सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने सो कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुई कार्यपत्र प्रस्तुत हुनेछन्।
नेपालका तर्फबाट प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सैद्धान्तिक अवधारणा र यसको विकासक्रमबारे बोल्नेछन् भने चिनियाँ पक्षबाट प्रस्तुत हुने तीनवटा कार्यपत्र राष्ट्रपति तथा पार्टी महासचिव सी चिङफिङले अघि सारेका महत्वाकांक्षी विकास अवधारणा र पार्टीको सैद्धान्तिक अवधारणाबारे हुनेछन्।
नेकपा स्कुल विभागका एक जना उपप्रमुखका अनुसार कार्यक्रमलाई बढी अन्तरक्रियामुखी बनाउने गरी डिजाइन गरिएको छ। जसअनुसार नेताहरुले भाषण गर्ने र अरुले सुन्ने मत्रै होइन, सैद्धान्तिक विषयमा प्रश्नोत्तर चलाउने गरी बढी समय सहभागीलाई दिइने छ।
‘दुबै देशका कम्युनिस्ट पार्टीबीच रहेका समानता र भिन्नताबारे कार्यकर्तालाई प्रस्ट हुने अवसर मिल्नेछ’, विदेश मामिला विभाग उपप्रमुखले भने, ‘यसबाट चीनले कसरी पार्टी चलाइरहेको छ भन्ने थाहा हुनुका साथै उनीहरुको विकास अवधारणाबारे पनि जानकारी हुनेछ।’
नेकपाका स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले भने चिनियाँ कम्युनिष्ट पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिने कार्यक्रम रहेपनि अन्य कार्यक्रम ठोस तय नभएको बताए।
कार्यक्रमकै बीचमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच समझादारीपत्रमा हस्ताक्षर हुने योजना छ।
नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीचको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन एमाले र माओवादीसँग अलग(अलग सम्बन्ध राख्दै आएकामा नेकपा बनेपछि नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको थाहा भएको छ।
कार्यक्रममा सहभागिताका लागि नेकपाका स्थायी समिति सदस्यहरुका साथै केही केन्द्रीय कमिटी सदस्य, पार्टी स्कुल र विदेश विभाग सदस्य तथा बुद्धिजीवी र पत्रकारहरु छनोट गरिएको छ। दुई दिन पूरै बस्ने गरि खबर आएको एक सहभागीले नेपालखबरलाई बताए।

प्रतिक्रिया