राजनीति


अख्तियार र अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियो: पौडेल

अख्तियार र अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियो: पौडेल

नेपालखबर
असोज ६, २०७६ सोमबार ११:४५,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन्।

दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालतलगायत सबै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए। पौडेलले भने–‘हरेक सम्वैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ। त्यो संविधानको विपरित हो। अख्तियार, अदालतलाई तर्साउन खोजिँदैछ। जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ।’

वरिष्ठ नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप पनि लगाए। उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टी हुने पनि बताए। उनले भने– ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ। विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ। ठूला ठूला आयोजना ठूला ठूला मान्छे मिलेर मात्र भएका छन्।’

नेता पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे। उनले भने–‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ। हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु गर्‍यो। बाटो, विजुली, पानी शिक्षा स्वास्थ्य गाँउ गाँउमा हामीले पुर्‍याएको हो। हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसंग गाँउ गाँउमा मान्छे काट्न थालियो। मान्छे काट्नेहरु सवै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ। बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ।’

पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए। उनले भने–‘हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ। कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन्। मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र हो। दासताको युग थियो त्यो समाप्त भयो। पुँजीपतिको युग थियो त्यो पनि समाप्त भयो। अहिले कम्युनिष्टको युगमा सवै वराबरी भयो भन्ने सोचेका थिए। तर अहिले कम्युनिष्टहरु नै नयाँ वर्ग जन्मिएको छ। हिजो सामान्य जनता जहाँको त्यही छ अहिले कम्युनिष्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको छ।’

पौडेलले दुई तिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरे । पौडेलले भने– ‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानुन ल्याउन खोजिँदै छ। मानवअधिकार आयोगको अधिकार कटौती गरीएको छ। हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ। त्यो संविधानको विपरित हो। अख्तियार, अदालतलाई तर्साउन खोजिँदैछ। जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ।’

नेता पौडेलले सवै पार्टीको सहमतिमा बनेको नागरिकता ऐन फेर्ने नहुने कांग्रेसको धारणा रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .