विज्ञ तथा सरोकारवालाहरुले इन्डो प्यासिफिक रणनीनिले नेपाललाई रणमैदान बनाउन सक्ने धारणा राखेका छन्।
नेपाल विश्व मामिला प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले आर्थिक, राजनीति र सैन्य विषयमा इन्डो प्यासिफिक रणनीतिमा समेटिएकाले नेपाल यसमा संलग्न भए ठूलो मूल्य चुकाउनु पर्ने बताए।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिमा सहभागी भएमा नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीति खारेज हुने बताए। उनले राष्ट्रियता र सुरक्षासँग.इन्डो प्यासिफिक जोडिएकोले बताउँदै नेपाल अफगानिस्तान हुन सक्ने बताए।
सत्तारुढ (नेकपा)को जोसँग पनि ठिक्क पर्ने बानीका कारण नेपालमाथि खतरा बढ्दै गएको उनको भनाइ थियो। ‘सत्ताधारीहरुले राष्ट्रपतिलाई चीन पठाए, लगत्त्तै परराष्ट्रमन्त्रीलाई इन्डो प्यासिफिकमा हस्ताक्षर गर्न पठाए’, नेता गजुरेलले भने, ‘यो अमेरिकाले चीनविरुद्ध ल्याएको हो। यो आर्थिक, राजनीतिक र सैन्य रणनीतिसँग सम्बन्धित छ। यसको पाटनर भए नेपालले ठूलो समस्या भोग्नुपर्ने हुन्छ।’ उनले सडकबाट यसलाई अस्वीकार गर्न पनि सबैसँग अपील गरे।
कार्यक्रममा बोल्दै डा. नन्दबहादु सिंहले २१ औं शताब्दीको केन्द्र एसिया भएको बुझेर नै अमेरिकाले इन्डो प्यासिफिक रणनीति अगाडि सारेको बताए। उनले चीन र भारतबीच लडाइँ नहुने भन्दै इन्डो प्यासिफिक रणनीतिमा सहभागी भए अहिलेभन्दा नेपाल झन समस्यामा पर्ने बताए। यो रणनीतिबाट अमेरिकाका सुरक्षा विज्ञ तथा थिङट्यांक नै सन्तुष्ट नभएको बताए।
नेपाली सेनाका पूर्वजर्नेल प्रेससिंह बस्न्यातले इन्डो प्यासिफिक रणनीतिले नेपालमा थप जटिलता पैदा गर्ने भन्दै अस्वीकार गर्नुपर्ने धारणा राखे। उनले अमेरिका इन्डो प्यासिफिक रणनीतिमार्फत नेपालमा प्रवेश गरेर चीनमाथि घेर्ने योजनामा रहेकोले त्यसबाट नेपाल तटस्थ रहनुपर्ने बताए।
डा. मृर्गेन्द्र बहादुर कार्कीले इन्डो प्यासिफिक रणनीति चीनले अगाडि सारेको बीआरआईको विरुद्ध ल्याएको बताए। उनले चीनले विश्वशक्ति शान्तिपूर्ण रुपमा आफूमा सार्न बीआरआई अगाडि सारेकोले त्यसको विरुद्ध अमेरिका लागेको भन्दै नेपाल त्यसबाट अलग रहनुपर्ने धारणा राखे। अरुको लहैलहैमा पछि लाग्नुभन्दा कुन देशसँग नजिक हुने भन्ने नेपालको आफ्नै नीति हुनुपर्ने बताए।
वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको आन्तरिक मामलामा अमेरिका प्रवेश गर्न लागेको बताउँदै सचेत हुनुपर्ने धारणा राखे। उनले सरकारले यसलाई हल्का रुपमा लिएको भन्दै त्यसको परिणाम ठूलो हुन सक्ने बताए।
त्यसैगरी कार्यक्रममा समिर सिंह, नरबहादुर कार्कीलगायत धारणा राखेका थिए ।
Shares

प्रतिक्रिया