राजनीति


सेनामा सलामी नगर्ने र नफर्काउनेलाई कारबाही

सेनामा सलामी नगर्ने र नफर्काउनेलाई कारबाही

नारायण न्यौपाने
भदौ २७, २०७६ शुक्रबार १०:१,

मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारबाहीको दायरामा ल्याइएको छ। विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक प्रहरीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो एक वर्षको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित तेस्रो रोलकलमा पछिल्लो समय केही सैनिक व्यक्तिले सलामको हकदारलाई सलाम नगर्ने, बरु देखे–नदेखेझै गर्ने प्रवृृत्ति बढेकामा त्यस्ता सैनिकलाई केही कारबाही हुन्न भनी जिज्ञासा राखेका थिए। प्रधानसेनापतिसहित सकलदर्जा उपस्थित रहेको उक्त कार्यक्रममा जमदार प्रेमबहादुर बस्नेतले भने, ‘आफ्नो युनिटभन्दा बाहेककालाई सलाम नगर्ने, देखे–नदेखेझैँ गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न केही कदम चाल्नुपर्ने हो कि?’

जवाफमा सङ्गठन विभागका प्रमुख सुवर्ण शाहले भने, ‘कुनै पनि सैनिक व्यक्तिले आफूभन्दा ज्येष्ठ सलामीको हकदारलाई सलामी गर्नु उसको कर्तव्य हो, हकदारले पनि सलामी अभिवादनलाई फर्काउनु दायित्व हो, सलामीको हकदारलाई देखे–नदेखेझैँ गर्ने प्रवृत्ति हटाउन र सलामीलाई व्यवस्थित गर्न कार्यविधि बनाएर पठाइ सकिएको हुनाले सकल दर्जाले त्यसको अक्षरसः पालना गर्नपर्ने हुन्छ।’

प्रधानसेनापति थापाको कार्यकाल प्रारम्भपछि त्रैमासिक चौथो रोलकलसम्म आइपुग्दा सलाम नगर्ने, देखे–नदेखेझैँ गर्ने र नफर्काउने २० भन्दा बढी घटनासँगसम्बद्ध व्यक्तिलाई कारवाहीको भागेदार बनाई दण्ड सजाय गरिएको सो अवसरमा जानकारी दिइयो। सङ्गठनभित्रका विकृति र विसङ्गतिको अन्त्य गरी विधि र पद्धति बसाल्ने क्रममा प्रधानसेनापति थापाले पुरस्कार र दण्ड सजायको व्यवस्था, गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट प्रक्रियामा सुधार, आचारसंहिताको पालना, आर्थिक अनुशासनमा कडाइजस्ता कार्यक्रममा जोड दिएका छन्।

सैनिक सङ्गठन निर्देशनालयका अनुसार, एक वर्षको अवधिमा सैनिक ऐनविपरीत कार्य गर्ने एक हजार ११७ लाई कारवाही गरिएको छ। नेपाली सेनाले गुनासा सम्बोधनका लागि नेतृत्व संवाद, सिपाहीका साथ प्रधानसेनापति, प्रधानसेनापतिको त्रैमासिक रोलकल, सिपाहीका साथ कमाण्डर, सिकायत जाँच निर्देशनालय, प्रधानसेनापतिको कार्यालयमा हण्टिङलाइन, सेना प्रमुख सुवेदारको व्यवस्था, महिला सैनिक र सैनिक खेलाडीसँग अन्तरक्रियाजस्ता संयन्त्र विकास गरेको छ।

राष्ट्रिय सुरक्षाको जग बलियो तुल्याउने, लडाइँ क्षमता सुदृढ बनाउने, सङ्गठन सुधारलाई प्राथमिकतामा राख्ने, सैनिक नीति नियममा समयानुकूल सुधार ल्याउने, पेशागत तालीममा निखार थप्ने, कल्याणकारी कार्यक्रमको पहुँच बढाउने, हरियाली प्रवद्र्धन गर्ने, बन्दोबस्तीको क्षमता बढाउने, हिमाल सफा राख्ने र द्रुतमार्गको कामलाई तीब्र तुल्याउने कामलाई नेपाली सेनाले अहिले प्राथमिकतामा राखेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad