रोल्पाको थवाङ गाउँपालिकामा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ।
बिहीबार राति आएको पहिरोमा परी दुई परिवारका ६ जनाको मृत्यु भएको हो।
रोल्पाको सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले स्थानीय ठिरकुमारी बुढामगरको पुरेको हो।
पहिरोमा परी मृत्यु हुनेमा ठिरकुमारी र उनका चार वर्षीय छोरा असल बुढाको मृत्यु भएको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले नेपालखबरलाई जानकारी दिए। ठिरकुमारीका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै छन्।
त्यस्तै पहिरोमा अर्को परिवारको चार जना सदस्यको पनि मृत्यु भएको उनले जानकारी दिए।
अध्यक्ष वीरबहादुरका अनुसार आफ्नो घर पहिरोमा पर्ने भएपछि ठिरकुमारीको घरमा आश्रय लिन गएका जय बुढा, मूलज्योति बुढा, बिर्सिती बुढा र चिरन बुढाको पनि सोही घटनामा मृत्यु भएको छ।
अहिले शव पोष्टमार्टमको लागि डाक्टरको टोली घटनास्थलतर्फ गइरहेको अध्यक्ष वीरबहादुरले बताए। उनका अनुसार पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ।
यसैगरी रोल्पाको सोही क्षेत्रबाट निर्वाचित ऊर्जामन्त्री वर्षमान पुनले पहिरो घटना दुखद् भएको भन्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। ‘रोल्पा थबाङ गापा–२ छेर्लोबाङमा पहिरोमा परी ठिरकुमारी बुढाको परिवारका ६ जनाको दुखद् मृत्युको घटनाले स्तब्ध बनाएको छ। मृतकप्रति श्रद्धाञ्जलि एवं शोकाकुल परिवार र आफन्तमा गहिरो समवेदना ब्यक्तगर्दछु’, मन्त्री पुनले फेसबुकमा लेखेका छन्।
Shares

प्रतिक्रिया