राजनीति


भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव

भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ६:४४,

काठमाडौं नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि आएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव राखेको छ।

भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्नेमा जोड दिएका हुन्।

भूमियोग्य जनिमको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौं मानिसहरुको जीविकामाथि गम्भीर चुनौती खडा गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले विश्वभर कृषियोग्य जमिन घट्दै गएका कारण उत्पादकत्व घटेको उदाहरण दिँदै यो चिन्ताको विषय भएको उल्लेख गरे।

उनले सम्मेलनबाट भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमिकरणबाट जोगाउन सामूहिक रुपमा दीर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने विचार व्यक्त गरे। मन्त्री बस्नेतले कुनै एक मुलुकले चाहेर मात्र मरुभूमीकरणको विकराल अवस्थासँग मुकाबिला गर्न नसक्ने स्पष्ट गर्दै त्यसका लागि सामूहिक प्रयास र सहकार्यमा जोड दिए।

 

नेपाल जमिनको क्षयीकरण रोक्न प्रयासरत रहेको र त्यसका लागि ठोस योजनाहरुका साथ अघि बढेको मन्त्री बस्नेतले जानकारी गराए। त्यसैका लागि सरकारले चालु आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषण गरेको तथा राष्ट्रपति–चुरे तराई मधेस संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे। यस्तै उनले वातावरणीय परिवर्तनले ल्याएका चुनौतीको सामना गर्न अनूकुलनका कार्यक्रमहरु अघि सारिएको बताए।

मन्त्री बस्नेतले राष्ट्रिय संकल्पका रुपमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराभित्र भू–संरक्षणलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरे। नेपालको कूल क्षेत्रफलको ४४ दशमलब ७४ प्रतिशत भू–भाग वन क्षेत्र र २ दशमलब ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रले ओगटेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसलाई नघटाइने प्रतिबद्धता समेत जनाए। यद्यपि नेपालले अन्य सदस्य राष्ट्रहरुका तुलनामा अधिक वातावरणीय चुनौती भोग्नु परिरहेकामा सम्मेलनको ध्यानाकर्षण गराए।

यस्तै नेपालले समुदायमा आधारित वन व्यवस्थापनमा विश्वमै नमूनायोग्य काम गरेको चर्चा गर्दै उनले वन क्षेत्रबाट उत्पादित लाभहरुको समुचित वितरणमा ध्यान दिइएको बताए। भू–क्षयको चुनौती सामना गर्न नेपालले माटो र पानीको स्रोत संरक्षण, वन र दिगो भूमि व्यवस्थापन, वातावरण संरक्षण तथा मौसम परिवर्तनसम्बन्धी नीति, ऐन र नियमहरु बनाएर लागू गरेको जानकारी सम्मेलनलाई गराए।

मन्त्री बस्नेत सेप्टेम्बर २ मा सुरु भएर १३ सम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागी भएका हुन्।
सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन्। सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका थिए।

नेपाल सन् १९९७ मा ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्र’ को सदस्य भएको थियो।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad