दुवईमा भइरहेको २४औँ विश्व ऊर्जा सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सम्बोधन गरेका छन्। आबुधाबीमा सुरु भएको सम्मेलनको ट्रिलेमा मिनिष्टेरियल राउन्ड टेबललाई सम्बोधन गर्दै मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी ५ हजार मेवा विद्युत् निर्यात गर्ने बताएका हुन्।
वर्तमान समयमा ८० प्रतिशत ऊर्जा खपत बायो मास तथा पेट्रोलियमजस्ता परम्परागत प्रणालीमै भइरहेको बताए। उनले जलविद्युत् र नवीकरणीय ऊर्जा ७ प्रतिशतमात्रै उपभोग भइरहेको सम्मेलनमा बताए। उनले भने, 'नेपालको हालको जेनरेसन क्षमता १ हजार २ सय ४० मेगावाट रहेको छ। हालसम्म ८८ प्रतिशत जनसंख्या ग्रिड र अफग्रिडको माध्यमबाट विद्युतीय पहुँचमा पुगेको छ। विद्युतको प्रतिव्यक्ति उपभोग २ सय ४५ किलोवाट प्रतिघण्टा रहेको छ। हामीले ट्रान्समिसन र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।'

सम्मेलनमा बोल्दै ऊर्जामन्त्री पुनले छिमेकी देशसँग पनि बजार पहुँचको लागि सहकार्य गरिरहेको बताउँदै भारतसँग ऊर्जा व्यापार र ट्रान्समिसन इन्टरनकनेक्सन सम्झौता भएको जानकारी दिए। त्यस्तै सोही प्रकृतिको सम्झौताको लागि चीन र बंगलादेशसँग सहमति भएको उल्लेख गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रमा अन्तर्सीमा विद्युत् व्यापारको लागि आधारभूत सहमतिमा पुगेको जानकारी दिए।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र ऊर्जा सहयोगका लागि फ्रेमवर्कमा सहमति जुटिसकेको उनले बताए। त्यस्तै बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टर टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) ग्रिड इन्टरकनेक्सनमा समेत सोही प्रकृतिको सहमति भएको बताए। नेपाल उपक्षेत्रीय तथा क्षेत्री विद्युत् सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।
त्यस्तै नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै आगामी १० वर्षभित्र १५ हजार मेवा जलविद्युत् उत्पादन गर्ने र ५ हजार मेवा छिमेकी देशलाई निर्यात गर्ने लक्ष्य राखेको ऊर्जामन्त्री पुनले विश्व ऊर्जा सम्मेलनमा जानकारी दिए।
ऊर्जा सहकार्य, छिमेकसँग ग्रिड कनेक्टिभिटीजस्ता कुरालाई नेपालले प्राथमिकतामा राखेको ऊर्जामन्त्री पुनले बताए। त्यस्तै प्रतिव्यक्ति विद्युत् उपभोगलाई १५ सय केडब्ल्यूएच आगामी १० वर्षमा बनाउने नेपालको लक्ष्य रहेको सम्मेलनमा बताएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया