चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणको क्रममा नेपालले मदन भण्डारी विश्वविद्यालय स्थापनाको एजेण्डालाई ‘उच्च प्राथमिकता’ दिएर उठाउँदै छ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीसँग सोमबार हुने भेटवार्ताहरूमा केरुङ–काठमाडौं रेलमार्गभन्दा मदन भण्डारी विश्वविद्यालय स्थापनाको एजेण्डालाई प्राथमिकतामा राखेको पाइएको छ।
नेपालले चीनसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत केही परियोजना प्रस्ताव गरेको र त्यसमध्ये नेपालमा विश्वस्तरीय मदन भण्डारी विश्वविद्यालयको स्थापनालाई ‘उच्च प्राथमिकता’ दिन आग्रह गर्न लागेको हो।
करिब एक महिनापछि हुने राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीको क्रममा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री वाङले सोमबार र मंगलबार राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् भने परराष्ट्रमन्त्री स्तरीय टोलीसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम छ।
चीनले बीआरआई परियोजना अन्तर्गत विश्वभर एक सयवटा विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। त्यही योजनाभित्र मदन भण्डारी विश्वविद्यालयलाई समावेश गर्न नेपालको तर्फबाट विदेशमन्त्री वाङलाई आग्रह गर्ने तयारी राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आफ्नो एजेण्डा–नोटमा गरेका हुन्।
नेपालखबरले परराष्ट्र मन्त्रालय सम्वद्ध उच्च स्रोतबाट प्राप्त गरेको मन्तव्य नोटमा राष्ट्रपति भण्डारीले विदेशमन्त्री वाङ समक्ष राख्ने मन्तव्यको दुई पक्षीय सहयोगसम्बन्धी शीर्षकको तेस्रो बुँदामा भनिएको छ, ‘हामीले जननेता मदन भण्डारीका नाममा विश्वस्तरको नयाँ विश्वविद्यालय स्थापनाको थालनी गरेका छौं। यो विषयलाई महामहिमको बीआरआई अन्तर्गत १०० वटा विश्वविद्यालय स्थापना गर्ने योजनामा समावेश गरिदिनुहुन पुनः आग्रह गर्दछु।’
वाङसँगको भेटवार्तामा राष्ट्रपतिको मन्तव्य-नोटको बुँदा
![]()
वाङसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीका लागि ४ पेजमा सुझाइएका बुँदाहरूमा मदन भण्डारी विश्वविद्यालयपछि मात्र केरुङ–काठमाडौं रेलमार्ग तथा हिमालयपार बहुआयामिक केनेक्टिभिटि नेटवर्कको चर्चा गरिएको छ।
२०५० सालमा चीन भ्रमणबाट फर्केको केही दिनमै दासढुंगामा जिप दुर्घटना भएर नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु भएको थियो। राजालाई सिधासिधा चुनौती दिने भाषण र ‘जनताको बहुदलीय जनवाद’ विचारकका रुपमा मदन भण्डारी चर्चित नेता थिए।
मदन भण्डारीको निधनपछि श्रीमती विद्यादेवी भण्डारी एमालेको नेतृत्व तहमा स्थापित भइन् र तीन वर्षयता राष्ट्रपतिको कार्यभार सम्हालिरहेकी छन्। चार महिनाअघि चीनको राजकीय भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति भण्डारीलाई उच्च सम्मान दिइएको थियो।
राष्ट्रपति भण्डारीले भावनात्मक सम्बन्ध र उनको विचार स्थापित गर्ने एउटा आकांक्षा अनुसार मदन भण्डारी विश्वविद्यालय स्थापना गर्ने विषयलाई यति महत्व दिएको बुझिन्छ।
तर प्रधानमन्त्री ओलीले यो एजेण्डालाई झन् उच्च प्राथमिकतामा राखेका छन्। विदेशमन्त्री वाङसँगको वार्तामा ओलीले उठाउने एजेण्डाको पहिलो प्राथमिकतामा मदन भण्डारी विश्वविद्यालय छ भने दोस्रोमा चीनसँग जोडिने टोखा–छहरे सुरुङमार्ग अर्थात् रसुवागढी–गल्छी–ठोरी राजमार्गको स्तरोन्नती र तेस्रोमा मात्र केरुङ–काठमाडौं रेलमार्गको डीपीआर (बृहत् परियोजना प्रतिवेदन) छ।
प्रधानमन्त्री ओलीले वाङसँगको वार्तामा राख्ने मन्तव्य–नोटको मस्यौदामा नेपालले बीआरआई अन्तर्गत केही परियोजना चीन समक्ष प्रस्ताव गरेको उल्लेख गर्दै भनिएको छ, ‘प्रस्तावित परियोजनाहरूमध्ये म जननेता मदन भण्डारी विश्वविद्यालयको स्थापना हाम्रो उच्च प्राथमिकतामा रहेको दोहोर्याउन चाहन्छु।’
वाङसँगको भेटवार्तामा प्रधानमन्त्रीको मन्तव्य-नोटको बुँदा
![]()
बीआरआई अन्तर्गत नेपालले अगाडि सारेको नौ बुँदे प्रस्तावको एउटा बुँदामा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान’ विश्वविद्यालयका रुपमा स्थापना गर्ने उल्लेख छ।
राष्ट्रपति भण्डारीले मदन भण्डारी विश्वविद्यालय स्थापनाका लागि चीनसँग ‘पुनः आग्रह’ गर्ने तयारी गर्नु र प्रधानमन्त्री ओलीले ‘दोहोर्याउन चाहन्छु’ भन्नुले यस विषयमा पहिलेदेखि नै कसरत भइरहेको देखिन्छ।
चीनले पनि मदन भण्डारी विश्वविद्यालय स्थापनाका लागि सहयोग गर्ने बताउँदै आएको छ।
तर यो नेपालको तर्फबाट राखिने प्रस्तावलाई चीनले त्यही रुपमा स्वीकार गर्छ नै भन्ने हुँदैन। नेपालले आफ्नो प्राथमिकताका आधारमा राख्ने प्रस्ताव र चीनले राख्ने प्रस्तावबीच छलफल भएपछि साझा एजेण्डाहरू छनोट हुनेछ, जसलाई राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा अगाडि बढाइने छ।
परराष्ट्रमन्त्री ज्ञवालीले पनि चीनका विदेशमन्त्री वाङसँगको दुई पक्षीय वार्तामा पहिलो प्राथमिकतामा मदन भण्डारी विश्वविद्याल राखेका छन् भने त्यसपछि कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती र रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेंसी खण्डको स्तरोन्नतीमा सहयोग गर्न जोड दिने तयारी गरेका छन्।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीले वाङसँगको वार्ताको एजेण्डामा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदालाई तेस्रो प्राथमिकतामा पारेका छन्।
सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र उनका समकक्षी प्रदिप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ।
सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म, ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग उनको निवास बालुवाटारमा भेटवार्ता गर्नेछ।
त्यसपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास जाने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीसँग वाङले बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म, ४० मिनेट भेटवार्ता गर्ने तय भएको छ।

प्रतिक्रिया