पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र संगठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ।
यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ।
सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य तथा प्रदेश संयोजक देवराज घिमिरे र डा. विजय पौडेलले प्रशिक्षण दिए।
पार्टी जिल्ला कार्यालयको भदौ ८ मा बसेको बैठकले बृहत्रूपमा कार्यकर्ता प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको हो। प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार कमिटीका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु सहभागी हुने जनाइएको छ।
प्रशिक्षणमा जिल्लास्तरीय विभागका सदस्य, नगर र गाउँ कमिटी पदाधिकारी, कार्यालय सदस्यहरु, वडा कमिटीका पदाधिकारी अध्यक्ष, सचिव र जनसंगठनका केन्द्रीय सदस्य जिल्ला पदाधिकारी सहभागी हुनेछन्। रासस

प्रतिक्रिया