प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गरेका छन्।
पूर्व पर्यटन्मन्त्री समेत रहेका कांग्रेस सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क पनि गरे। बुधबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा पेश गरिएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिने क्रममा उहाँले संविधानको धारामै टेकेर विधेयक ल्याउन सके त्यसमाथिको आलोचना आफै हटेर जानेतर्फ पनि सरकारलाई सचेत गराए।
सत्तारुढ नेकपाका सांसद जीवन बुढाले संघ, प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्ने सीमा निर्धारण तत्काल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले प्रदेश समन्वय परिषदको व्यवस्था संविधानमा व्यवस्था गरिएकाले विधेयकमा पनि त्यसलाई समावेश गर्न उपयुक्त हुने सुझाव दिए।
यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयकलाई समृद्ध बनाएर कानुन बनाउने काममा सरकार प्रतिवद्ध रहेको बताए। उनले सरकारले ल्याएको सबै विधेयकलाई समृद्ध बनाउन खुला छलफलमा भाग लिन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे।
मन्त्री ढकालले संविधानको परिधि भित्र रहेर सरकारले विधेयकहरु ल्याउने गरेको पनि स्पष्ट पारे।
प्रतिक्रिया