ad ad

समाज


मुस्ताङको लोमान्थाङमा यार्तुङ मेला सुरु (फोटोफिचर)

 मुस्ताङको लोमान्थाङमा यार्तुङ मेला सुरु (फोटोफिचर)

वाशुदेव मिश्र
भदौ १८, २०७६ बुधबार ११:३०,

माटैमाटोेको गाउँ उपल्लो मुस्ताङको लोमान्थाङमा बुधबारबाट यार्तुङ मेला सुरु भएको छ।

हिमाली भेगमा वर्षात् सकिएपछि यार्तुङ मनाइन्छ। यार भनेको बर्खा र तोङको अर्थ बर्खा राम्रोसँग सकिएको भन्ने बुझिन्छ। तोङ भनेको मेला पनि हो।

३ हजार ८ सय ४० मिटर उचाईमा रहेको यो सुन्दर बस्तीको बीचमा रहेको कूलदेवता आमा झोला कर्मोको गुम्बामा गाउँकै लामा गुरु घ्याचो विष्टले विधिपूर्वक पूजाआजा गरेपछि शुभकामना साँटासाँटसँगै तीनदिने पर्व सुरु भएको हो।

लोमान्थाङसँगै यो क्षेत्रका छोेसेर, छोण्हुप, घमी, चर्राङ र सुर्खाङमा पनि पर्वको रौनक सुरु भएको लोमान्थाङका रैथाने तथा गण्डकी प्रदेशका सभासद ईन्द्रधारा विष्टले जनाए। उनका अनुसार लामा गुरुले निकालेको साइत अनुसार यो पटक बुधबार यार्तुङ सुरु गरिएको हो।

यार्तुङमा परम्परागत झाँकी, घोडादौड र मीठोमीठो परिकार खाइन्छ। शुभकामना साँटिन्छ। हिमाली क्षेत्रमा शुभकामना साँट्दा खादा र छाङ ( एक किसिमको जाँड) को प्रयोग गरिन्छ। चिसो ठाउँका बासिन्दाले शरीर तातो बनाउन छाङको प्रयोग गर्ने गर्ने परम्परा रहे पनि यसको अत्यधिक सेवनलाई भने निरुत्साहित गरिएको उनको भनाई छ।

सभासद विष्टका अनुसार यो पटकको बर्खा सकिएको र अब आउने हिउँद पनि सुखपूर्वक बितोस् अनि अर्को पटकको यार्तुङ मनाउँदा खेतिपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाइन्छ।


गाउँ पालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा लामा रिञ्जिन दोर्जे विष्टका अनुसार महिलाले पुरुषलाई, पुरुषले महिलालाई,लामाहरुले सबैलाई शुभकामना बाँड्नु र घोडदौड यो पर्वको अको विशेषता हो।

यो पर्व मुस्ताङी राजाको पालादेखि नै चल्दै आएको हो भने पर्वमा राजा पनि सरिक हुने चलन रहँदै आएको छ। अहिले कानूनतः मुस्ताङ र देशमा राजा छैनन् तर लोमान्थाङमा राजाको सांस्कृतिक महत्व सकिएको छैन। उनी पनि यहाँका नागरिकसँग शुभकामना दिने लिने कार्यक्रममा मुस्ताङी युवराज जिग्मेसिग्मे परवल विष्ट सरिक भएका छन्।

यार्तुङको पहिलो दिन पुरुषहरुको, दोस्रो दिन महिला र तेस्रो दिन लामाहरुको घोडदौड पनि यो पर्वको अर्को विशेषता हो। घोडदौडपछि सबै मिलेर वनभोज खाने चलन छ। यार्तुङ सकिएसँगै यहाँ चिसो बढ्न थाल्छ।

यार्तुङ सकिएको १० दिनपछि यहाँ खेतीपाती थन्क्याउन थालिन्छ। दाउरा र खाद्यान्नको जोहो गरिन्छ। बढी हिउँ पर्दा यहाँका बासिन्दाहरु घरभित्रै बस्छन्। तिब्बती संस्कृतिको जीवन्तता पनि यार्तुङको विशेषता हो। गुम्बा र गुफाहरु अनि राता र सेता पहाडहरुले घेरिएको यो सुुन्दर बस्तीका बासिन्दाहरुको राम्रो लगाउने र मीठो खाने पर्व जाडो लाग्न लागेको संकेत पनि हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .