काठमाडाैं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले काम जसले बिगारे पनि दोष महानगरलाई आउँने गरेका भन्दै जिम्मेवारी पूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
सोमबार विकास साझेदारका अधिकारीबीच राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उपप्रमुख खड्गीले अहिलेसम्म भएका कामबाट सन्तुष्ट हुने अवस्था नरहेकाे बताइन्।
‘अहिलेसम्म भएका कामबाट सन्तुष्ट हुने अवस्था छैन। सडकमा भन्नोस् वा सडक पेटीमा, ढलमा भन्नोस् या खानेपानीमा। समयमा काम सम्पन्न नगर्ने निकाय अर्कै छन्। तर गाली जनप्रतिनिधि र महानगरका कर्मचारीले खानुपर्छ।’ बैठकमा उपप्रमुख खड्गीले भनिन्, ‘त्यसैले अब बिकासका साझेदार कार्यालयले, महानगरमा जनप्रतिनिधिले जनतासँग गरेका प्रतिज्ञा पूरा गराउन सहयोग गर्नुपर्छ । यसलाई महानगरको निर्देशन ठान्नोस् र आफ्ना जिम्मामा भएका काम इमान्दारिताका साथ पूरा गर्नोस्।’
एकीकृत समन्वयात्मक विकासका लागि प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय, महानगर र विभागमा बैठक हुने गरेको र हरेक बैठकमा उपस्थित हुने अधिकांश अधिकारी उनै, बैठकको एजेन्डा पनि एउटै र निर्णय पनि उस्तै हुने भन्दै उनले समस्या कार्यान्वयनमा रहेकाे बताइन्।
साे बैठकले सहरी व्यवस्थापन र सुबिधा वितरणका लागि साझेदारबीच समन्वय हुनुपर्छ भन्ने एजेण्डा बैठकमा मात्र सीमित भएको निष्कर्ष निकालेको छ।
बैठकमा डिभिजन सडक कार्यालयका प्रमुख कैलाशकुमार श्रेष्ठ, उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक मिलन शाक्य, सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर लगायतकाे सहभागिता थियाे।

प्रतिक्रिया