समाज


अदालतको आदेशअनुसार रवि लामिछानेले पालना गर्नुपर्नेछ यी ३ सर्त

अदालतको आदेशअनुसार रवि लामिछानेले पालना गर्नुपर्नेछ यी ३ सर्त

नेपालखबर
भदौ ९, २०७६ सोमबार १३:१३,

 पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशबाट रिहा भएका छन्। अदालतमा उनले गरेको बयान, प्रमाण तथा बहस सुनिसकेपछि जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजालसले उनलाई ३ वटा सर्तमा रिहा गरेको हो।

पहिलो, उनी साधारण तारेखमा रिहा भएका होइनन्। रिहा हुन उनले ५ लाख रुपैयाँ बुझाए। मुद्दामा धरौटी मागको अर्थ सो प्रकरणमा उनी सत्प्रतिशत निर्दोष छैनन् भन्ने हो।

दोस्रो, पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आफैँले टेलिभिजन कार्यक्रम बनाएर प्रसारण गर्न पाउने छैनन्। आफू अभियुक्त रहेको प्रकरणमा म निर्दोष छु भन्ने किसिमका सामग्री तटस्थ नहुने एवं तथ्यहरु तोडमोडको सम्भावना रहने भएकाले अदालतले त्यसलाई प्रतिबन्ध लगाएको हो। उनी अभियुक्त भएको प्रकरण बाहेक न्युज २४ को ‘सिधा कुरा जनतासँग’मा अन्य सामग्री देखाउन प्रतिबन्ध हुने छैन।

रविले आफू अभियुक्त रहेको प्रकरणमा आफैँलाई निर्दोष देखाउने संकेत पहिलै गरेपछि अदालतले त्यसमा सावधानी अपनाएको हो। उनले ‘प्रहरी हिरासतमा असुरक्षित छु’, ‘अनुसन्धान स्वीकार्य छैन’, ‘थुनामुक्त भएको ३ मिनेटमै निर्दोष प्रमाणित गर्दिन सक्छु’जस्ता अभिव्यक्ति दिएका थिए।

तेस्रो, उनी सुटुक्क विदेशतिर लाग्न पाउने छैनन्। विदेश जानुपर्ने भए जिल्ला अदालत चितवनबाट अग्रिम रुपमा उद्देश्य र कारण खुलाई लिखित अनुमति माग गर्नुपर्नेछ। अदालतलाई मनासिब लागेमा उनलाई अनुमति दिन सक्नेछ। अनुमति नदिन पनि सक्नेछ। अनुमतिबिना विदेश जान खोजे उनी पक्राउ पर्न सक्नेछन्। अदालतको आदेश उल्लंघन गर्न प्रयास गरेको अवस्थामा पक्राउ परे उनी थुनामा जानेछन्।

यो पनि: रवि लामिछाने ५ लाख धरौटीमा रिहा, अस्मिता साधारण तारेखमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad