ad ad

राजनीति


प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा शिक्षामन्त्रीको बचाउ, रूपा सुनारको आलोचना

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा शिक्षामन्त्रीको बचाउ, रूपा सुनारको आलोचना

नेपालखबर
असार १८, २०७८ शुक्रबार ६:२२,

रूपा सुनार प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको बचाउ गर्दै पीडित पक्षलाई नै गलत देखाउने प्रयास गरेका छन्।

आज (शुक्रबार) सरकारी पत्रिका गोरखापत्रमा ‘छिर्केमिर्के टिप्पणीमाथि तथ्ययुक्त स्पष्टता’ लेख लेख्दै प्रेस सल्लाहकार थापाले जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दामा पक्राउ परेकी घरबेटीलाई थुनामुक्त गराई आफू चढेकै झन्डावाल गाडीमा राखेर घर पुर्‍याइदिने शिक्षामन्त्री श्रेष्ठको गल्तीलाई सामान्यीकरण मात्र गर्न खाजेका छैनन्, पीडित रूपा सुनारलाई नै मिडिया ‘स्टन्ट’ गरेको आरोप लगाउँदै उनका पक्षमा लेख्ने पत्रकार/लेखकको उछितो काढेका हुन्।

छुवाछुतको पक्ष लिएको भन्दै शिक्षामन्त्री श्रेष्ठको चौतर्फी आलोचना भइरहेको छ। यस क्रममा सरकारले नै जातीय विभेदको संरक्षण गरेको भन्दै प्रधानमन्त्री ओलीको समेत विरोध भइरहेको छ। प्रधानमन्त्री एवं सरकारविरुद्ध विभिन्न पत्रकार एवं लेखकले टिप्पणी गरिरहेका छन् भने ठाउँठाउँमा आन्दोलनसमेत भइरहेका छन्।

हुन त यसबीच शिक्षामन्त्री श्रेष्ठले प्रधानमन्त्री ओली तथा राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएका खबर सार्वजनिक भइसकेका छन्।

तर पनि शिक्षामन्त्रीविरुद्ध आलोचना र आन्दोलन रोकिएका छैनन्।

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले खासगरी सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले लेखेको ‘प्रधानमन्त्रीज्यू, तपाईंको जीवनकै यादगार सम्बोधन गर्नुहोस्!’ लेखलाई मुख्य निसाना बनाउँदै छुवाछुतका पीडित एवं उनका पक्षलाई नै गलत साबित गराउने प्रयत्न गरेका हुन्।

‘...बबरमहल प्रकरणमा रूपा सुनार वा सरस्वती प्रधानको पक्षविपक्षमा उभिएर तर्क गर्नु मात्रै त समाधान होइन। त्यसमा छानबिन, अभियोजन र कानुनको कार्यान्वयन त प्रक्रियामै छ,’ थापाले लेखेका छन्, ‘कानुन पुगेन र प्रधानमन्त्रीले ‘यादगार’ सम्बोधन गर्नुपर्ने तपाईंको मनोगत निष्कर्षको आधार के हो?’

उनले अगाडि प्रश्न गरेका छन्, ‘प्रहरीले प्रधानलाई हिरासतमा लिएर अनुसन्धान गरेको पनि कानुनकै व्यवस्थाबमोजिम होइन र? उहाँलाई अहिले हिरासतमुक्त मात्रै गरिएको छ, उन्मुक्ति दिएको त होइन र तथ्य–प्रमाणको खोजी र अनुसन्धानको जारी प्रक्रिया टुंगोमा पुग्नै बाँकी छ।’

यस क्रममा थापाले नागरिक अभियन्तासमेत रहेका लेखक खगेन्द्र संग्रौालविरुद्ध पनि रोष प्रकट गरेका छन्।

‘...उहाँ (शिक्षामन्त्री श्रेष्ठ) ले छुवाछूतको पक्षपोषण गरेको भने जसरी विषयलाई ट्विस्ट गर्दै प्रहारको निसाना सोझ्याउनु झन् ठूलो पूर्वाग्रह र षड्यन्त्र हो,’ थापाले लेखेका छन्, ‘...यस मुद्दामा शिक्षामन्त्रीले अनुसन्धान वा दण्ड प्रक्रियालाई कहींँकतै प्रभावित गरेको भन्नेसमेत पाइँदैन। अनि उहाँमाथि ‘जुनकिरीको संगीत’ का धून कम्पोजर खगेन संग्रौला आदिको हमलाले के निष्कर्ष दिन्छ?’

यति मात्र होइन, प्रेस सल्लाहकार थापाले सञ्चारकर्मी रूपा सुनारलाई पनि गलत देखाउने प्रयाससमेत गरेका छन्। ‘व्यक्तिगत डेराभाडा’ विषयमा सुनारले अनावश्यक रूपमा जाहेरी दिने तथा मिडिया ‘स्टन्ट’ गर्ने गरेर गलत उद्देश्य राखेको आरोपसमेत उनले लगाएका छन्।

शुक्रबारको गोरखापत्रमा उनले लेखेका छन्, ‘...फेरि सुरुमा यो व्यक्तिगत रूपमा डेरा भाडामा लिने–दिने विषय मात्रै थियो। घरवालाले सरोकारै नराखेको अवस्थामा ‘म कामीको छोरी...’ भनेर विषयान्तर गरिनु, जाहेरी दिनु र पछि तमाम कार्य तथा मिडिया ‘स्टन्ट’ गरिनुका उद्देश्य र अभिप्राय त आआफ्नै होलान्! सबैजना त्यतातिर नै लाग्न जरुरी छैन र यो ‘नेवार’ वा ‘दलित’ समुदायलक्षित विषय हो जस्तो गर्नुपर्ने पनि केही कारण छैन। त्यसरी राजनीतिकरण गर्ने वा स्थिति भड्काउने कोसिस गर्न पनि जरुरी छैन।’

यी पनि :

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

रूपा सुनारविरुद्ध भ्रम फैलाउने ६ अनलाइन बन्द गराउन पत्राचार

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .