ad ad

राजनीति


एसपीमा छुटेका ब्याचीको एआईजीमा भेट, आईजीपीमा भीडन्त

एसपीमा छुटेका ब्याचीको एआईजीमा भेट, आईजीपीमा भीडन्त

उजिर कार्की
असार १५, २०७८ मंगलबार ७:३५,

सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्दै सहकुल थापालाई बढुवा गर्न सिफारिस गरेसँगै भावी आईजीपी (महानिरीक्षक) मा प्रतिस्पर्धा हुने भएको छ।

२०७९ बैशाख १९ गतेपछि प्रहरी नेतृत्वमा पुग्नका लागि एआईजी विश्वराज पोखरेल र सहकुल थापाबीच प्रतिस्पर्धा हुने भएको हो।

हालका आईजीपी शैलेश थापा र एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्कीले आगामी वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाश पाउने छन्। त्यसपछिको १० महिना नेतृत्वमा पुग्नका लागि थापा र पोख्रेलबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि नेपाल प्रहरी महानिरीक्षकमा पाेख्रेल एक्ला दाबेदार रहेकोमा थापा थपिएपछि प्रहरी नेतृत्वबारे धेरैको चासो अब बढ्ने भएकाे छ।

तर गतसाता सरकारले प्रदेश समन्वय निर्देशनालयमा एआईजीको दरबन्दी सिर्जना गर्दै आईजीपीमा प्रतिस्पर्धाको बाटो खुल्ला गरेको हो। यसअघि गत मंसिरमा पोख्रेललाई एआईजी बनाउँदा पनि सरकारले सोही उपाय अपनाएको थियो। पोख्रेलका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआईजीको दरबन्दी सिर्जना गरिएको थियो।

पोख्रेल ७ महिना पहिले नै एआईजीमा बढुवा भएको भए पनि एउटै आर्थिक वर्षभित्र भएकाले दुवै उत्तिकै दाबेदार हुनेछन्।

थापालाई एसएसपीमा छाडेका थिए पोख्रेलले
विश्वराज र सकहुल २०४९ सालमा आईजीपी शैलेश थापासँगै एउटै विज्ञापनमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन्। आईजीपी थापासहित ६० जना २०४९ वैसाख १९ गते निरीक्षकमा भर्ना भए।

सहकुल र विश्वराज भने त्यतिबेला वैकल्पिकको सूचीमा थिए। त्यही वर्षको चैत २९ गते उनीहरुलाई पनि सरकारले निरीक्षकमा भर्ना लियो।

१० महिनापछि भर्ना भएकै कारण अहिले उनीहरुको नेतृत्वसम्मको बाटो खुलेको हो। २०६२ जेठ २२ गते डीएसपीमा र २०६९ माघ ११ गते एसपीमा सँगै बढुवा भएका थिए।

त्यसपछि एसपीसम्म नै आईजीपी शैलेशको ब्याचिभन्दा पोख्रेल र थापा पछाडी नै रहे। तर एसएसपीबाट भने विश्वराजले सहकुललाई छाडेर शैलेशलाई भेटे।

यो पनिः डीआईजीमा सहकुलको अर्थपूर्ण छलाङ

पोख्रेल २०७४ साउन १९ गते र थापा २०७५ जेठ ३ गते मात्रै बढुवा भएका थिए। विश्वराज अघिल्लो ब्याचसँगै नवौं नम्बरमा बढुवा हुँदा थापा अर्को ब्याचबाट पहिलो नम्बरमा बढुवा भए।

एसएसपीमा यो ब्याचबाट विश्वराज एक्लै अगाडि लागे। त्यसपछि पनि उनको त्यो गति रोकिएन।

भर्ना हुँदादेखि सधैं पाँचौं वरियतामा रहेका विश्वराज पोख्रेलले एसएसपी हुँदा नै अघिल्लो ब्याचका समेत १० जनालाई पछाडि पारे। एसपीमै छुटेका सहकुल १० महिनापछि एक नम्बरमा एसएसपी त भए तर उनी एसएसपी भएको केही समयपछि फेरि विश्वराजले अर्को फड्को मारे।

२०७६ वैशाख १९ गते पोख्रेल डीआईजीमा बढुवा भए। तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा ज्यान गएपछि रिक्त डीआईजीमा पोख्रेल बढुवा भएका थिए। त्यसपछि भने विश्वराजले लिएको गति सहकुलले पनि समाएको देखियो।

२०७६ चैत २८ गते १० जना डीआईजी बढुवा सिफारिशमा पर्दा सहकुलको अर्थपूर्ण छलाङ देखियो। भर्ना भएदेखिकै माथिल्लो वरियतामा रहेका र १० महिना पहिले नै एसएसपी भएका ब्याचीलाई सहकुलले पनि उछिने।

उनी डीआईजी भएसँगै भावी आईजीपीको प्रतिस्पर्धामा देखिएका थिए। तर २०७७ मंसिरमा सरकारले एउटा मात्रै एआईजीको दरबन्दी थप गरेसँगै प्रतिस्पर्धाको बाटो बन्द भएको देखिन्थ्यो। मंसिर १५ गते एआईजीमा सिफारिस भएका विश्वराज मात्रै आईजीका दाबेदार थिए।

तर विश्वराजलाई जस्तै सहकुललाई पनि वर्तमान सरकारको आशिर्वाद रहँदा भावी आईजीपीमा दुईजनाको लागि नै प्रतिष्पर्धा खुल्ला भएको हो।

आफ्ना मान्छे तान्न दरबन्दीमा हस्तक्षेप
थापाले एकसातापछि एआईजीको फूली लगाउने छन्। थापाको बढुवाले आईजीपीमा प्रतिस्पर्धाको बाटो खुल्ला भए पनि प्रहरीमा आफ्ना मान्छे तान्न दरबन्दीमा हस्तक्षेप गर्ने शृंखलाले भने निरन्तरता पाएको छ।

२०७६ फागुनमा बढुवाको मुखमा १२ जना डीआईजीको दरबन्दी केपी ओली नेतृत्वकै सरकारले घटाएको थियो। तर त्यसपछि दुई एआईजीको दरबन्दी थप गर्दै आफ्ना मान्छे माथि तानेको हो।

यसअघि २०७४ मा एआईजीको संख्या १६ पुगेको थियो। त्यसलाई घटाएर वर्तमान सरकारले ४ मा झारेको थियो।

कुनै समय ४१ पुगेको डीआईजीको दरबन्दी पनि अहिले प्राविधिकसहित २७ मा झरेको छ। तर सत्ताले संगठनको आवश्यकताभन्दा पनि आफ्ना मान्छे तान्ने आवश्यकताका आधारमा दरबन्दी थप्ने र कटौती गर्ने क्रमलाई भने निरन्तरता दिएको छ।

यो पनिः नेपाल प्रहरीको एआईजीमा पोख्रेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .