ad ad

कारोबार


६ वर्षदेखि ‘भूतघर’ बन्यो १७ तले सुविधासम्पन्न होराइजन अपार्टमेन्ट

६ वर्षदेखि ‘भूतघर’ बन्यो १७ तले सुविधासम्पन्न होराइजन अपार्टमेन्ट

वसन्त अर्याल
असार १५, २०७८ मंगलबार ७:१९,

धापासीको पार्क भ्यु होराइजन अपार्टमेन्ट धराप अवस्थामा वर्षौँदेखि बेवारिसे बनेको छ।

छ वर्षअघिको भूकम्पले चर्काएको अपार्टमेन्ट न भत्काइएको छ, न त रेट्रोफिटिङ या मर्मतसम्भार नै गरिएको छ।

यतिकै अलपत्र छाडिदिँदा होराइजनले नजिकका स्थानीयलाई आतंकित बनाएको छ।

२०७२ सालको विनाशकारी भूकम्पले होराइजनको गाह्राहरु चर्किएका छन्। तर वर्षौँ बित्दा अहिलेसम्म अपार्टमेन्टलाई के गर्ने भन्ने नै अनिश्चित छ।

भूकम्पपछि सहरी विकास तथा भवन निर्माण विभागले होराइजन अपार्टमेन्टलाई रातो ‘स्टिकर’ टाँसेको छ। यसको अर्थ हो उक्त भवनमा मानिसहरु बस्न मिल्दैन।

horizon apartment 2

असुरक्षित भएकै कारण बस्नथालेका मानिसहरुले पनि भूकम्पपछि अपार्टमेन्ट छोडे।

‘भूतघर’जस्तै बनेको यो अपार्टमेन्टमा अहिले सम्पत्ति संरक्षणको लागि सुरक्षा गार्डमात्रै छन्।

अपार्टमेन्टमा भवन ढाक्नको लागि प्रयोग गरिएको ‘हरियो कभर’ बेला–बेला परिवर्तन हुनेबाहेक अन्य केही प्रगति भएको छैन।

वरपरका स्थानीय कहिले भवन भत्काउने रे भन्ने हल्ला सुन्छन् त कहिले रेट्रोफिटिङका कुरा।

तर अहिलेसम्म ती दुवै काम उनीहरुले देख्न पाएका छैनन्।

horizon apartment 3

कसको अपार्टमेन्ट हो यो?
पार्क भ्यु होराइजन भारतीय व्यावसायिक ग्रुप आरजे कर्पको सब्सिडरी कम्पनी वरुण डेभलपर्स प्रालिले निर्माण गरेको हो।

नेपालमा घरजग्गा कारोबार गर्दै आएका एक व्यवसायीका अनुसार होराइजनमा करिब पूरै लगानी भारतीय आरजे ग्रुपकै छ।

कम्पनीले होराइजन अपार्टमेन्ट निर्माणपछि ९० प्रतिशत बढी फ्ल्याटहरु भारतीय नागरिकलाई नै बेचेको थियो।

‘मारवाडी समुदायका बढी मानिस त्यहाँ बस्थे। फ्ल्याट किनेका सबैको पैसा फिर्ता गरेको भन्ने सुनिन्छ’, ती व्यवसायीले भने, ‘सबैको रकम फिर्ता गरेका भारतीय खर्बपति व्यवसायी भएकाले अपार्टमेन्ट तत्काल रेट्रोफिटिङ गर्न दबाब छैन।’

horizon apartment 8

ती नेपाली व्यवसायीका अनुसार नेपालमा पेप्सीको कारोबार गर्दै आएको कम्पनीले नै लगानी गरेको हो। 

आरजे कर्पले भारतमा पेयपदार्थ पेप्सीको कारोबार गर्दै आएको छ। नेपालमा पेप्सीको कारोबार वरुण बेभरेजले गर्छ। अर्थात् नेपालमा पेप्सीको कारोबार गर्ने व्यापारिक समूहको अपार्टमेन्टमा लगानी छ।
वरुण डेभलपर्सले १ करोड २० लाखदेखि ३ करोड ३५ लाखसम्मका फ्ल्याट निर्माण गरी यसको बिक्री गरेको थियो।

अपार्टमेन्टभित्र २१२ वटा युनिट (फ्ल्याट) छन्। २ बेडरुम, ३ बेडरुम, ४ बेडरुमसहित किचन र हल छन्।

३० रोपनी क्षेत्रफल फैलिएको होराइजनको अपार्टमेन्टभित्र बास्केटबल, टेनिस÷ब्याडमिन्टन कोर्टको व्यवस्था गरिएको छ।

horizon apartment 4

बच्चाहरुको खेलकुदको लागि पार्क, फायर फाइटिङ सिस्टम, सेन्ट्रल एयर कन्डिसनिङ, फिटनेस क्लब, स्विमिङ पुललगायतका स्वास्थ्य पूर्वाधार निर्माण गरिएका छन्।

आवासीय प्रयोजनको यो अपार्टमेन्ट २०७० मा निर्माणसम्पन्न भएको थियो।

होराइजनका ५ वटा टावर छन्। तर १७ तलासम्मका भवन अहिले भने सुनसानप्रायः छन्।

सुरुमा २२ रोपनी ७ आना जग्गामा ११ तल्लाको मात्रै स्वीकृति लिए पनि अपार्टमेन्ट बनाउँदै जाँदा अरु ७ तल्ला स्वीकृति लिएर थपियो भने जग्गा समेत थप गरियो।

वरपरका स्थानीयले अपार्टमेन्ट भत्काउन नगरपालिका, भवन निर्माण विभागमा बारम्बार ताकेता गर्दै आएका छन्।

horizon apartment 12

भूकम्पले थिलोथिलो पारेको अपार्टमेन्ट कहिले भत्किने भन्ने त्रासमा उनीहरु छन्।

अपार्टमेन्टको छेवैमा व्यापार गर्दै आएका एक व्यवसायीले बाहिरबाट भवन भत्किहाल्छ कि जस्तो लाग्ने गरेको बताए।

सोही कारण सधैँ त्रासमा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

‘गेट छेउको टावर भत्कियो भने बाहिर बाटोमा हिँड्दै गरेको मानिस समेत पुरिने अवस्था छ’, त्यहाँको सम्भावित भयावह दृश्य कल्पिँदै उनले भने, ‘कहिले भवन भत्काउने भन्ने सुनिन्छ, कहिले मर्मत गर्ने। चर्किएको भवन देख्दा जहिल्यै डर लाग्छ।’

horizon apartment 11

होराइजन गेट छेउमै घर भएका एक स्थानीयले बारम्बार नगरपालिका, भवन विभागमा आफूहरुले कुरा उठाउँदा पनि कुनै सम्बोधन नभएको बताए।

‘कहिले सानो भूकम्पको धक्का जाँदा पनि आफ्नो घरभन्दा पनि अपार्टमेन्ट भत्केर पुर्छ कि भन्ने डर हुन्छ’, स्थानीय रमेश कुँवरले भने, ‘जसरी पनि अपार्टमेन्ट भत्काउनुपर्छ।’

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले होराइजन अपार्टमेन्टको विषयमा स्थानीयहरुको गुनासो बारम्बार आए पनि कुनै सम्बोधन गर्न नसकिएको स्वीकार गरे।

‘स्थानीयहरु अपार्टमेन्टले गर्दा डर भयो भन्दै नगरपालिकामा गुनासो गर्दै आएका छन्’, मेयर अधिकारीले भने, ‘स्थानीयसहित म आफैँले पनि बारम्बार भवन विभागमा त्यसको टुंगो लगाउन आग्रह गर्दा पनि केही हुनसकेको छैन।’

horizon apartment 6

अधिकारीले होराइजनको वरिपरि घर हुँदा अपार्टमेन्ट भत्काउन समेत समस्या देखिएको बताए।

‘अपार्टमेन्टमा ठूलो मेसिन लगेर भत्काउन समेत नसकिने अवस्था छ। हामी नगरपालिकाले त केही गर्न सक्दैनौँ’, उनले भने, ‘अब संघीय सरकारले के गर्छ भनेर कुरिरहेका छौँ।’

उनले होराइजन अपार्टमेन्ट निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमै नभएको बताए।

‘स्थानीयसहित नगरपालिकाको माग अपार्टमेन्ट भत्काउनुपर्छ भन्ने हो। प्रबलीकरण गर्ने भए पनि पहिला स्वीकृति लिएको ११ तल्लामा झार्नुपर्छ’, मेयर अधिकारीले भने।

horizon apartment 9

रेट्रोफिटिङ भएन
यता सहरी विकास तथा भवन निर्माण विभागले पार्क भ्यु होराइजन अपार्टमेन्ट रेट्रो फिटिङका लागि अनुमति दिएको जानकारी दिएको छ।

विभागका अनुसार अपार्टमेन्ट कम्पनीलाई रेट्रोफिटिङ अर्थात् प्रबलीकरणको लागि अनुमति दिए पनि कम्पनीले काम नै सुरु गरेको छैन।

‘विभागले अपार्टमेन्ट रेट्रोफिटिङका लागि अनुमति दिएको छ’, विभागको बहुतले शाखाकी एक इन्जिनियरले भनिन्, ‘अपार्टमेन्ट भत्काउनुपर्दैन रेट्रो फिटिङ गरेर बस्न मिल्छ। तर कम्पनीले रेट्रोफिटिङको काम सुरु नगरेकाले हामीले जरिवाना समेत लगाएका छौँ।’

विभागले वरुण डेभलपर्सलाई हर्जना समेत लगाएको छ। तर कम्पनी अहिले विभागकै सम्पर्कमा नभएको ती इन्जिनियरले बताइन्।

horizon apartment 10

‘हामीले रेट्रोफिटिङ गर्न अनुमति दिँदा पनि उसले काम गरेन भने ५० हजारसम्म जरिवाना गर्नसक्ने अवस्था छ। त्योबाहेक हामीले केही गर्न सक्दैनौँ’, ती इन्जिनियरले भनिन्, ‘डेभलपर्सलाई ताकेता गर्ने मात्रै हो।’

विभागकै पूर्वइन्जिनियर वसन्त राईले होराइजन अपार्टमेन्टको रेट्रोफिटिङ गर्न सकिने बताए।

‘भूकम्प जाँदा सुरुमा भत्काउनुपर्छ भन्ने थियो। अपार्टमेन्टको प्राविधिक अध्ययनपछि रेट्रोफिटिङ गर्न सकिने निष्कर्ष निकालिएको थियो’, राईले भने, ‘म विभागमै कार्यरत रहँदा रेट्रोफिटिङ गर्न अनुमति दिने निष्कर्षमा पुगिएको थियो। अहिले के भएको छ, थाहा भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .