राजनीति


डीआईजीमा सहकुलको अर्थपूर्ण छलाङ

डीआईजीमा सहकुलको अर्थपूर्ण छलाङ

उजिर कार्की
चैत २९, २०७६ शनिबार ८:१५,

लामो रस्साकस्सीपछि शुक्रबार मध्यराति नेपाल प्रहरीको वेवसाइटमा सूचना प्रकाशित भयो, डीआईजी सिफारिसको।

दिनभरको जोडघटाउपछि गृह मन्त्रालय र प्रहरी नेतृत्वले एउटा सूची तयार पार्‍यो र त्यो प्रधानमन्त्री निवास बालुवाटार पर्याइयो। तर, त्यो सूची बालुवाटारलाई मान्य भएन।

बालुवाटारबाट फर्किएका अधिकारीहरूसहित बढुवा समितिको बैठक गृह मन्त्रालयमा मध्यरातसम्म चल्यो। र, मध्यराति डीआईजीमा बढुवा हुने १० जनाको सूची सार्वजनिक गरियो।

शक्ति केन्द्रका स्वार्थ र कार्य सम्पादन मूल्यांकनका आधारमा प्रहरी बढुवामा वरियताक्रम तलमाथि हुनु कुनै नौलो कुरा होइन। अधिल्लो सरकारका पालामा केही एसएसपीले माथिल्लो वरियतामा स्थान बनाएका थिए, जो पसपटक पछाडि परे। उनीहरुका लागि यो सरकार दाहिने भएन र कार्यमूल्यांकन पनि उत्कृष्ठ रहेन।

डीआईजी सिफारिस सूचीको ५ औँ नम्बरले भने धेरैको ध्यान खिच्यो, अनेक अड्कलबाजी गर्न बाध्य बनायो। डीआईजीमा सिफारिस गरिएका १० जनामध्ये ५ औँ नम्बरमा छन् प्रहरी अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापा।

थापाले प्रहरी निरीक्षकमा भर्ना भएदेखिका आफ्ना ब्याचीलाई यहाँ आएर उछिनेका छन्। भर्ना भएदेखि एसएसपीसम्म उनीभन्दा अगाडि थिए– धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक र उत्तमराज सुवेदी। हुन त विश्वराज पोख्रेलको यसअघिको छलाङले नै प्रहरीमा एउटा हलचल ल्याइसकेको थियो।

सहकुलको पछिल्लो अग्रताले अर्को अड्कलबाजी सुरु भएको छ। २०४९ चैत २९ गते भर्ना भएका मध्येबाट दुई वर्षपछि प्रहरी महानिरीक्षक बन्नेछन्। र, अब सहकुलभन्दा अगाडि यो ब्याचका विश्वराज पोख्रेल मात्रै छन्। पोख्रेल आफूभन्दा १० महिना अघिको ब्याचलाई समेत उछिन्दै गएको वैशाखमा डीआईजी भएका थिए।

असार २४ मा आईजीपछि दुई एआईजी रिक्त हुँदैछन्। एआईजी तारिणीप्रसाद लम्सालले अवकास पाएसँगै बाँकी दुई एआईजी हरिबहादुर पाल र शैलेश थापा क्षेत्रीमध्य एक जना आईजी बन्नेछन्।

रिक्त दुई एआईजीका लागि तीन डीआईजी मुख्य दाबेदार हुनेछन्। निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोख्रेल। पोख्रेलभन्दा ६ महिना पहिले शाही र कार्की डीआईजीमा बढुवा भएका थिए।

सहकुलको अहिलेको छलाङले कति हलचल ल्याउने हो भन्ने कुरा अबको एआईजी बढुवाले थप पुष्टि गर्नेछ। त्यतिबेला माथिल्लो वरियतामा रहेका शाही र कार्की एआईजी भए भने थापाका लागि आईजीको बाटो सहज हुनेछ।

२०४९ चैत २९ गते भर्ना हुँदा यो ब्याचका धीरजप्रताप सिंह पहिलो नम्बरमा थिए। २०६९ माघ ११ गते एसपीमा बढुवा हुँदा उत्तमराज सुवेदी पहिलो बने भने धीरज दोश्रोमा झरे। तर, २०७४ साउन १९ गते यो ब्याचबाट ६ जना अघिल्लो ब्याचसँगै एसएसपीमा बढुवा भए। त्यतिबेला पनि सहकुल भने परेनन्। विश्वराज पोख्रेल, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी र रवीन्द्रबहादुर धानुक बढुवा भएका थिए।

तर, २०७५ जेठ ३ गते सहकुल एक नम्बरमा एसएसपीमा बढुवा भएका थिए। हाल दशौं नम्बरमा बढुवा भएका अरुणकुमार बिसी दोस्रो नम्बरमा थिए।

शुक्रबार गरिएको डीआईजी बढुवा सिफारिसका शीर्ष चार जना घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त र ईश्वरबाबु कार्की अघिल्लो ब्याचका हुन्। उनीहरु एआईजी शैलेश थापा र हरि पालसँगै अवकास हुनेछन्।

बाँकी रहेका डीआईजीमा सहकुलको अंक माथि छ। त्यसपछि धीरजप्रताव, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसी सिफारिसमा परेका छन्।

यो ब्याचले २०७९ वैशाख १९ पछि प्रहरीको नेतृत्व पाउने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .