राजनीति


ओली-नेपाल जुहारी चलिरहँदा दोस्रो तहका नेता भने वार्तामा

ओली-नेपाल जुहारी चलिरहँदा दोस्रो तहका नेता भने वार्तामा

नेपालखबर
असार १४, २०७८ सोमबार १५:२८,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक मञ्चबाटै एकअर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन्। तर, दोस्रो पुस्ताका नेताहरुबीच भने सहमति खोज्न छलफल जारी छ।

सोमबार दुई फरक कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालबीच जुहारी चल्दै गर्दा दोस्रो पुस्ताका नेताहरुबीच ललितपुरको समिट होटलमा छलफल चलिरहेको थियो।

विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, भीम आचार्य र गोकर्ण विष्टबीच छलफल भएको थियो।

‘अनौपचारिक बैठकहरु जारी छन्। तर त्यसमा खासै प्रगति हुन सकेको छैन,’ भुसालले नेपालखबरसँग भने।

यसअघि पनि दोस्रो पुस्ताका नेताहरुबीच पटकपटक छलफल भएको थियो।

सोमबार मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओली नेपालप्रति तल्लो स्तरको टिप्पणी गरेका थिए। उनले आफूलाई बहुला कुकुरले नटोकेकाले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका थिए।

नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको तर आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका थिए।

त्यसप्रति सोमबार बिहान प्रधानमन्त्री ओलीले कटाक्ष गरेका हुन्।

त्यसको केही समयपछि पाँच दलीय गठबन्धनका तर्फबाट पेसाकर्मीहरुसँग गरेको अन्तक्रिया कार्यममा नेता नेपालले संस्कार सिकाउँदै हिँडेको दाबी गर्ने प्रधानमन्त्री ओलीको भाषणलाई रेकर्ड गरेर राख्नु पर्ने बताएका थिए।

‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँप्रति सबैको ध्यान जाओस्,’ नेता नेपालले भने।

पछिल्लो समय ओली पक्ष दसौँ महाधिवेशन आयोजक कमिटी विघटन गर्ने र केन्द्रीय कमिटीको बैठक राख्ने तयारीमा छ। तर, भुसाल बैठकको विषयमा अहिलेसम्म ओली पक्षले कुनै छलफल नगरेको बताउँछन्।

बैठक राख्ने भनेपनि नेपाल पक्षले उठाउँदै आएको जस्तो २०७५ जेठ २ को केन्द्रीय कमिटीअनुसार हो कि होइन भन्ने विषयमा अन्यौल कायमै छ।

ओलीपक्षले बुधबारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। बैठकमा अध्यक्ष ओलीले जेठ २३ गते पार्टी एकताका लागि गरेको आह्वान अनुसार प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी ब्युँताउने तयारी भइरहेको छ।

दसौँ महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि त्यसलाई भंग गरी केन्द्रीय कमिटी ब्युँताउन लागिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad