नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सहकुलबहादुर थापालाई बढुवा गर्न सिफारिस गरिएको छ।
सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव आईजीपी शैलेश थापाले जानकारी दिए।
सरकारले हालै एक जना एआईजी र एक डीआईजीको दरबन्दी थप गरेको थियो। थप गरिएको एआईजीको दरबन्दी प्रदेश समन्वय निर्देशनालयमा रहने भएको छ। थापा हालै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका थिए।
७ दिनपछि सरकारले थापालाई बढुवा गर्ने निर्णय गर्नेछ। थापा एआईजीमा बढुवा भएसँगै भावि आईजीपीको लागि पनि प्रतिस्पर्धि भएका छन्। भावि आईजीपीमा थापा र एआईजी विश्वराज पोख्रेल प्रतिस्पर्धि बनेका छन्। उनीहरु सँगै सेवामा प्रवेश गरेका हुन्।
यही सरकारले विश्वराज पोख्रेललाई पनि यसैगरी नयाँ दरबन्दी सिर्जना गरेर एआईजी बनाएको थियो। थापालाई एआईजीमा बढुवा गर्ने भएपछि नेपाल प्रहरीमा एआईजीको संख्या फेरि ६ पुगेको छ।
यसअघि एआईजी हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्की, विश्वराज पोख्रेल र प्राविधिकतर्फ आशा सिंह कार्यरत छन्।

Shares

प्रतिक्रिया