प्रदेश नं २ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस गरिएको छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले आज सिराहाका यादवलाई अध्यक्षमा चयन गरेको हो।
मुख्यमन्त्री राउतको अध्यक्षता, सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य रहेको सिफारिस समितिले यादवलाई अध्यक्षमा सिफारिस गरेको हो। अध्यक्षमा सिफारिस हुनुभएका यादव सिराहा निवासी हुन्। उनी सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मैरबता यादव बहुमुखी क्याम्पसमा सह–प्राध्यापकको रुपमा कार्यरत छन्। अध्यक्षमा नियुक्त भएपछि प्राध्यापक यादवले संविधानलाई टेकेर र ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिक्रिया दिए।
यसैबीच प्रदेश नं २ मा श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी बिदाको घोषणा गरेको हो। रासस

प्रतिक्रिया