ad ad

राजनीति


अघिल्लै दिन धादिङमा स्याल करायो, भोलिपल्ट अदालतमा कुखुरा हरायो : प्रधानमन्त्री ओली

अघिल्लै दिन धादिङमा स्याल करायो, भोलिपल्ट अदालतमा कुखुरा हरायो : प्रधानमन्त्री ओली

नेपालखबर
असार ११, २०७८ शुक्रबार १३:३९,

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायलयले निर्णय गर्नुपूर्व नै सो बारे चर्चा गरिनुले शंका उब्जाएको बताएका हुन्।

सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगन अन्तरिम आदेश दिएको थियो। यस विषयमा अघिल्लो दिन नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतले यस्तो गर्दैछ भनी अभिव्यक्ति दिएकाले न्यायलयको निष्पक्षतामाथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताए।

उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए। कसरी गरे त्यो पनि गजबै छ। धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु। न्याय निष्पक्ष निरुपण भयो कि अरुनै हिसाबले? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ, नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो। कसरी त्यो भयो त? एउटा गम्भीर प्रश्न छ।’

उनले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने भन्दै त्यस अघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गरे।

उनले भने, ‘प्रणालीप्रति चिन्तित र सजक हुनुपर्ने कुरा हो। प्रणालीप्रति हाम्रो सजगता आवश्यक छ। प्रणालीहरु सधै अग्नि परीक्षामा नै हुन्छ्रन्। प्रणालीले परिणामबाट आफ्नो सहीपना र सर्वश्रेष्ठता सावित गर्नै पर्छ। तर प्रणालीलाई कार्यान्वयनमा नै जान नदिईकन, कार्यान्वयनको प्रारम्भ नै हुन नदिइकन फेरि भत्काउने तर्फ लाग्नु खतरनाक बिषय हो।’

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दै राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए।

उनले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ। हुने गरेको छ। राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, पार्लियामेन्टमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने। फैसला प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि। राजनीतिक विषयहरुको टुंगो राजनीतिक संस्थाहरुले वा राजनीतिक पार्टीहरुले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि। अदालतले त संविधान र कानुनको कुरा गर्ने हो। राजनीतिक होइन।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तर्राष्ट्रिय मञ्चहरुमा देखिँदै आएको बताए।

उनले भने, ‘लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुन्छ। हाम्रो सामाजिक न्याय र समानता सहितको आन्तरिक नीति, त्यसको प्रतिबिम्ब अन्तराष्ट्रिय मञ्चहरुमा पनि त्यस्तै हुन्छ। जुन कुराको दृष्टान्त प्रदीप ज्ञवालीजीको पुस्तिका हो। नेपालको भूभाग समेटिएर छापिएको नक्सा जसलाई आजकल प्रचलित भाषामा चुचे नक्सा भन्ने गरेको छ। अब चुचे नक्सालाई कसैले पनि मेटाउन सक्क्तैन। नेपालले फरेन पोलिसि (परराष्ट्र नीति) लाई चुचे नक्सा जस्तै आकार दिएको छ। त्यसलाई पनि मेटाउन सक्क्तैन। एउटा लयमा फरेन पोलिसि अघि बढिसकेको छ। यसलाई कसैले मेट्न सक्क्तैन।’

उनले नेपालको राजनीतिमा भ्रम फैलाउन खोजेको भन्दै पार्लियामेन्टमा खुर्सानीको धुलो बोकेर जाने र पार्लियामेनटको लडाईं माइकले हानेर गर्नेहरुसँगको लडाई शान्तिपूर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास दिलाए।

उनले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरु नै नेपालको राजनीतिमा विदेशीहरुको भूमिका चाहिरहेको दाबी गरे। पूर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्ति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खुलमखुला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफूलाई आडम्बरी देशशक्ति भनी टिप्पणी गर्ने गरेको बताए।

उनले भने, ‘एकजना पूर्वप्रधानमन्त्रीले एउटा विदेशी टेलिभिजनको संवाद कार्यक्रममा भाग लिएको मैले देखेँ। यो माइक्रो म्यानेजमेन्टमा लाग्न हुँदैन। तपाईंहरु माइक्रो म्यानेजमेन्टमा नलाग्नुहोस्। ठूला कुरामा हात हाल्नुहोस् न। पोलिसी म्याटरमा हात हाल्नुहोस् न। जथाभावी किन हुन दिइरहनुभएको छ तपाईंहरु?उहाँको भनाई थियो। मलाई आश्चर्य लाग्यो। तैपनि आफूलाई देशभक्त नै हुँ भनेर हिँडिरहेका छन्। अर्को पूर्वप्रधानमन्त्रीजी खुलेआम भन्छन्–के हेरेका होलान् हाम्रा लोकतान्त्रिक मित्रहरु, छिमेकीहरुले? यस्तो हुँदा पनि के हेरेका होलान् भनेको के? के चाहीँ गरिदिनुपर्ने? फेरि उहाँहरु फलानाको देशभक्ति भनेको चाहीँ नक्कली देशभक्ति हो। आडम्बरी देशभक्ति हो।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्ने विरुद्ध एकजुट हुन महन्थ ठाकुरलाई साथमा लिएको स्पष्ट पारे।

उनले भने, ‘उहाँहरुले महन्थ ठाकुरजीलाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ। मैले महन्थजीलाई साथ लिएँ भने, मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको छैन। म तपाईका पोलिसिका पछाडि जान्छु भनेको छैन। अर्को कुरा उहाँहरुसँग कुनै एग्रिमेन्ट (सम्झौता) पनि गरेको छैन। मैले डेमोक्रेसीका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ। त्यो चाहीँ हुनुहुनामी के के भइहाल्यो? महन्थजीलाई प्रधानमन्त्री हुनुहोस् भनेर डबलीमा बुद्धिजीवीहरु साक्षी राखेर भनेको होइन? टेलिभिजनमा खिचाएको होइन? उहाँहरुको आक्रोश मैले भन्ने गर्थें नि रिसाएको विरालोले खामो चितोर्छ भनेर।’

प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताए। गणतन्त्रप्रतिको बैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गरे।

उनले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि केही भूतपूर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले। त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .