नेपाल परिवार दलले जातीय भेदभाव नेपाली समाजको कलंक भएको बताएको छ।
उक्त दलले विज्ञप्ति जारी गर्दै दलित भएकै कारण रुपा सुनारले कोठा भाडामा नपाएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘जातीय समाजको कुरूप कलंक हो। नश्लवादी एवं उत्पीडित समुदायविरोधीको रुपमा राज्य प्रस्तुत नहोस्’, उसले भनेको छ, ‘देशका सबै जातजातिले आत्मसम्मान र गर्वका साथ बाँच्न पाउने अधिकारको लागि राज्यले अभिभावकीय भूमिका प्रदान गरोस्!’
कुनै पनि बहानामा हुने विभेदलाई राज्यले संरक्षित गर्न नहुने उक्त दलको धारणा छ।
राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग,आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्नु नहुने उक्त दलले जनाएको छ।
उसले भनेको छ, ‘सबै प्रकारका विभेद, असमानता, शोषणको पूर्ण रुपमा अन्त्य हुनु पर्दछ। नेपाल परिवार दल दलित तथा उत्पीडित समुदाय माथि निरन्तर भैरहेको विभेद र सामाजिक अपमानको बारेमा गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण गराउँछ।’

प्रतिक्रिया