राजनीति


पारस युवराज होइन नागरिक हो, नागरिककै कानून लाग्छः सञ्चारमन्त्री

पारस युवराज होइन नागरिक हो, नागरिककै कानून लाग्छः सञ्चारमन्त्री

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ११:३७,

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कानून उल्लंघन गर्ने कसैलाई पनि नछोड्ने बताएका छन्।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न  बिहीबार सञ्चार  मन्त्रालाय आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले पूर्व युवराज पारस शाहप्रति लक्षित गर्दै कानूनी कारबाही गर्ने चेतावनी दिएका हुन्। संविधानभन्दा माथि कोही नरहेकोले कानून अनुसार पारसलाई दण्डित गर्ने मन्त्री बास्काेटाकाे भनाइ थियाे।

केही दिन अघि विमानस्थलमा पूर्व युवराज पारसले ड्युटीमा रहेका एक प्रहरी अधिकारीमाथि हातपात गरेको विषयमा सरकारले छानबिन गरिरहेको र आवश्यक कारबाही गर्ने मन्त्री बास्कोटाले जानकारी दिए। पुर्व युवराज पारसकाे उद्दण्डताबारे सञ्चारकर्मीकाे जिज्ञासामा उनले सरकारले ‘युवराज स्युवराज नचिन्ने नागरिक मात्रै चिन्ने’ बताए।

उनले भने, ‘पहिलाका खानदानी हौँ भन्नेहरुलाई केही सुरक्षा थ्रेट होला कि भनेर सरकारले सुरक्षाकर्मी दिएको हो। तर, सुरक्षा र छुट बेग्लै कुरा हो। सरकारले सुरक्षा दिन्छ, कसैलाई छुट दिँदैन।’

उनले नागरिकलाई सुरक्षा दिनु सरकारको दायित्व भएको बताए। उनले सुरक्षा कर्मीको दुरुपयोग हुन नसक्ने बताए। ‘सुरक्षाकर्मीको दुरुपयोग हुन सक्दैन। संविधानभन्दा माथि कोही पनि छैन’, उनले भने, ‘संविधानभन्दा माथि हुने चीजको अन्त्य गरेरै गणतन्त्र ल्याएको हो।’

मन्त्री बास्कोटाले राजतन्त्रका नाममा राजनीति गर्नेहरु डाइनोसर हुने ठोकुवा पनि गरे। उनले भने, ‘चिहानमा आराधना गरेर राजन्त्र फर्कँदैन। भूपू मायालुको यादमा तड्पनेहरु तड्पिरहुन्। हाम्रो भन्नु केही छैन।’ राजतन्त्रको हाउगुजी नदेखाउन चेतावनी दिँदै उनले भने, ‘को राजा? कस्तो राजा? कहाँबाट ल्याउने भनेको हो राजा? लावण्य देशबाट? हामीकहाँ त कुनै राजा छैन।’

उनले राजतन्त्रविरुद्ध लाखौँ जनता सडकमा उत्रेर राजतन्त्र अन्त्य गरेकोले गणतन्त्रको धरातल त्यति कमजोर नरहेको जिकिर पनि गरे।

बेग्लै प्रसंगमा मन्त्री बास्कोटाले सरकारका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका सचिवहरुको सरुवाले कार्यसम्पादनमा फरक नपार्ने दाबी पनि गरे। ‘कर्मचारी भनेका स्थायी संयन्त्र हुन्। मन्त्रीले कुनै ब्यक्तिसँग होइन, सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन्। त्यसकारण सचिव नयाँ आएपनि केही फरक पर्दैन।’

प्रधानमन्त्रीको स्वास्थ्यबारे समाजमा सक्कली, नक्कली र डेडअक्कली गरी तीनवटा धारणा रहेको भन्दै सञ्चारकर्मीलाई व्यंग्य गर्न पनि भ्याए।

प्रधानमन्त्रीको १२ वर्ष अघि मृगौला प्रत्यारोपण भएकोले यो बिचमा मेडिकल साइन्सले नयाँ प्रविधि र नयाँ औषधि आविष्कार गरिसकेको हुँदा ओलीको औषधि परिवर्तन गरिएको उनले जानकारी दिए। नयाँ औषधिको प्रभाव र नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली सिंगापुर जान लागेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .