नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्। युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो।
सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाएका छन्।
थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले
यस्तै, नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनी नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ।
एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उनीप्रति श्रद्धाञ्जलीका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया