नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेन्डासहित अघि बढिरहेको बताएका छन्।
शुक्रबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै नेपालले केही व्यक्तिले पार्टीबारे नकारात्मक प्रचार गरिरहेको बताए। उनले भ्रममा नपर्न पार्टीपंक्तिलाई आग्रह गरे। ‘कोही कोही मान्छेहरू नकारात्मक प्रचार गरेर हिँडिरहेका छन्,’ नेपालले भने।
केही दिनअघि नेकपा नेता झलनाथ खनालले संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएका थिए। जसमा प्रचण्ड र नेपालबाट पार्टी चल्न नसक्ने जिकिर गरेका थिए। त्यसलाई इंगित गर्दै नेपालले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका हुन्।
देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी संरचनाको गठनको कार्य तीव्र गतिमा भइरहेको उनको भनाइ थियो। उनले नेपाली समाजमा आधारित वैज्ञानिक समाजवादको अवधारणालाई अघि सार्दै पार्टीको विधानलाई अन्तिम रुप दिने तयारी भइरहेको बताए।
‘अहिले हामी नेपालीमा समाजमा आधारित वैज्ञानिक समाजवाद अंगालेर हामी अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘हामी लामो समयदेखि छलफल चलाइरहेका छौँ। यो सबै कुरालाई समेटेर हामी पार्टीको विधानलाई अन्तिम रुप पनि दिनेछौँ।’
देश र जनतालाई केन्द्रबिन्दुमा राखेर समाजमा आमुल परिवर्तनको सामाजिक आर्थिक रुपान्तरणको एजेन्डा लिएर अगाडि बढिरहेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया