सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बारका पदाधिकारीले पछिल्लो समय देखिएको इजलाससम्बन्धी विवादबारे छलफल भएको जनाएका छन्।
उनका अनुसार बिहान भएको भेटमा संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले गठन गरेको संवैधानिक इजलासमाथि वकिलहरुले उठाएको प्रश्नबारे छलफल भएको थियो।
दुई पक्षबीच भएको छलफलमा संवैधानिक इजलासलाई विवादरहित बनाउने सहमति भएको छ। साथै वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत भएका छन्।
राणासँगको छलफलमा के भयो? शाक्यकै शब्दमा :
"सर्वोच्च बारका अध्यक्षलगायतका पदाधिकारीहरुले आज ११ बजे प्रधानन्यायाधीशसँग भेट गरेका थियौँ।
संवैधानिक इजलाससम्बन्धी विवादलाई कसरी ‘सेफ ल्याण्डिङ’ गर्न सकिन्छ र भोलिका दिन पनि संवैधानिक इजलास गठन गर्दा विवादरहित ढंगले कसरी लान सकिन्छ भन्ने कुरामा हाम्रो एकदम सौहार्दपूर्ण वातावरणमा छलफल भयो।
त्यसपछि संवैधानिक इजलास गठनका सम्बन्धमा एउटा सहमति भएको छ।
संवैधनिक इजलासको नियममै आवश्यकताअनुसार परिवर्तन गरी सिनियरिटी (वरिष्ठता)का आधारमा इजलास गठन गर्ने र त्यसरी गठन गर्दा पनि न्यायाधीशहरुलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ (स्वार्थ बाझिने), स्वास्थ्यका कारणले बस्न नसक्ने भयो भने उहाँहरुले नबस्ने निर्देश गरेपछि त्यसभन्दा तलको सिनियरिटीमा जो छ, उसलाई ल्याएर बेञ्च गठन गर्ने कुरामा प्रधानन्यायाधीश सहमत हुनुभएको छ।
त्यो सम्बन्धमा छिट्टै यो संशोधनको प्रस्ताव ल्याएर फुल कोर्टबाट छलफल गरेर स्वीकृत गराएर न्यायपरिषद्बाट एक हप्ताभित्र संशोधन गरेर सर्वाेच्च अदालतले संवैधानिक इजलास अगाडि बढाउनेछ।
आज स्थगित हुने सम्भावना छ। आज बेञ्च घोषणा हुन्छ होला।"

प्रतिक्रिया