करछली प्रकरणमा मुछिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ। घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए।
उनले ४० वर्ष न्याय सेवामा काम गरे। न्याय परिषद्ले उक्त विवाद सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरी छानबिन गरेको थियो।
कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई दुई वर्षको जर्ती वापतको कर ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ तिर्न पत्राचार गरेपछि गोर्खा ब्रुअरी नियम विपरित उच्च अदालत पोखरामा रिट दायर गरेको थियो। उच्च अदालत पोखराले गत असार ११ गते न्यायधीशद्वय जिवनहरि अधिकारी र नरबहादुर शाहीको सयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्दै कर निर्धारण नगर्न फैसला सुनाएका थिए।

प्रतिक्रिया