उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आफ्नो सम्पूर्ण ध्यान कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा केन्द्रित गर्ने बताएका छन्।
उनले जतिसक्दो छिटो आमनेपाली जनतालाई खोप लगाउने बताए।
‘सरकारको अर्जुनदृष्टि भ्याक्सिन लगाउने अभियानमा छ, हामी जतिसक्दो छिटो आमनेपाली जनतालाई खोप लगाउने अभियानमा केन्द्रित हुन्छौं,’ पोखरेलले सञ्चारकर्मीसँग भने, ‘आगामी बजेटले पनि सोहिअनुसार आवश्यक व्यवस्था गर्छ।’
उनले सरकारले खोप अभियानलाई पहिलो प्राथमिकताका साथ अघि बढाउने बताए।
पोखरेलले सरकारले खोप प्राप्तिका लागि छिमेकी मुलुकहरु भारत, चीनलगायत अमेरिका, बेलायत र युरोपेली मुलुकहरुसँग बिभिन्न तहमा कुराकानी गरिरहेको बताए।
अहिलेसम्म सरकारले महामारीको अग्रपंक्तिमा खटिएका भनी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी, शिक्षक लगायत समूहगतरुपमा कोभिड खोप लगाएको छ।
उपप्रधानमन्त्री पोखरेलले अब भने केहि महिनाभित्रै आमनेपाली जनताले नै खोप लगाउन पाउने बताए।
तर कति महिनाभित्र भन्ने तोक्न भने हतार हुने उनको भनाइ थियो।

प्रतिक्रिया