पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्याउन खोजेको संकेत छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्याएर संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै आलोचना गरेका हुन्।
‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रकालागि शुभसंकेत हैनन्,’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!’
पहिलो संविधानसभा असफल भएपछि दलहरुले तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेका थिए। रेग्मी अध्यक्ष रहेको मन्त्रिपरिषदले ०६९ सालमा संविधानसभाको दोस्रो चुनाव गरेको थियो।
ओलीले दोस्रोपटक संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन्। तर, ओलीको यो कदमको चौतर्फी विरोध भइरहेको छ। सबै प्रमुख राजनीतिक दलसहित प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेको माधव नेपाल खेमासमेत प्रधानमन्त्रीको यो कदमको विरुद्धमा उभिएका छन्।

प्रतिक्रिया