नेकपा एमालका नेता तथा सांसद योगेश भट्टराईले अन्तिम समयसम्म पार्टी एकताको उपाय खोज्नका लागि आफूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको बताएका छन्।
नेकपा एमालेको माधवकुमार नेपाल नेतृत्व समूहका २६ जना सांसदले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा सोही समूहका नेता भट्टराईले भने अन्तिम समयमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
‘सास रहेसम्म आश हुन्छ भनेरै मैले पार्टी एकतालाई जोगाउन सकिन्छ कि भनी हस्ताक्षर नगरेको हुँ,’ भट्टराईले नेपालखबरसँग भने, ‘अन्य साथीहरुले भने हस्ताक्षर गर्नु भएको छ।’
देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेता नेपालको समेत अगुवाइमा उनको समूहका एमाले सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो।
‘स्थायी कमिटीका नेताहरुको बैठकले देश, जनता र अहिलेको व्यवस्था जोगाउनका लागि प्रधानमन्त्री ओलीको बहिरगमन आवश्यक छ भन्ने साझा निष्कर्षपछि हामीले त्यसमा हस्ताक्षर गरेका हौं,’ सांसद तथा केन्द्रीय सदस्य झपट रावलले भने, ‘केही साथीहरुले गर्दिन भन्नु भयो कसैलाई जोरजबरजस्ती गरेनौं। ओलीलाई विस्थापन गर्नका लागि हस्ताक्षर गरेको हो।’
रावलका अनुसार बिहान ११ बजे संसद सचिवालयस्थित एउटा हलमा जम्मा भएर त्यहिँ हस्ताक्षर गरिएको हो।
‘मेरो हस्ताक्षर दुरुपयोग भयो भनी अहिले जयकुमार राईबाट विज्ञप्ति आएको छ। हामीले बुझाएको हस्ताक्षरमा उहाँको नाम नै छैन,’ रावलले भने, ‘केही साथीहरुले माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भए मात्रै हस्ताक्षर गर्ने भन्नु भयो, उहाँहरुलाई पनि केही भन्ने कुरा भएन।’
यसैबीच नेपाखलबरसँग कुरा गर्दै एमाले नेता घनश्याम भूसालले संसद भंग हुन नदिनका लागि माधवकुमार नेपाललाई आवश्यक निर्णय गर्ने अधिकार बैठकले दिएको बताएका छन्।
‘अहिलेको सांसद भंग नहुने उपाय के हुन्छ त्यस विषयमा निर्णय गर्ने अधिकार नेता नेपालले दिइएको हो,’ भुसालले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया