राजनीति


राष्ट्रपतिको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

राष्ट्रपतिको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १४:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट संविधानमा आँच पुराउने काम नगरेको दाबी गरेका छन्।

उनले संविधान अनुसार सरकारले गरेका सिफारिसलाई राष्ट्रपतिले मान्नुपर्ने भएकाले आफूले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आव्हान गरेको भन्दै राष्ट्रपतिको भूमिकाको बचाउ गरे। उनले राष्ट्रपतिले संविधानमाथि थिचोमिचो गर्ने काम नभएको भन्दै राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र र गणतान्त्रिक व्यवस्था विरोधी भएको टिप्पणी गरे।

उनले भने, ‘संविधानमाथि कस्ले थिचोमिचो गर्यो? वैकल्पिक सरकार बनाउन छोड्दा पनि संविधानमाथि थिचोमिचो हुन्छ? मार्गप्रसस्त गरिदिँदा पनि थिचोमिचो हुन्छ? म लिन्न (विश्वासकोमत) मैले हात उठाएँँ। म हार्छु। विश्वासको मत लिएँ भने म हार्छु। हारेपछि ५ मै जाने हो। ५ मै जानेहो भने जाउँ न त तपाईहरु सरकार बनाउनुहोस्। नीति, कार्यक्रम सबै पेश गर्नु भन्ने कुरा संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुन्छ? लोकतन्त्र विरुद्ध हुन्छ? संविधान विरुद्ध हुन्छ? के यो आजको आवश्यकता विरुद्ध हुन्छ?’

आफूले भनेजस्तो नभएपछि सरकार विरोधीहरुले राष्ट्रपतिको हुर्मत लिने काम गरेको टिप्पणी उनले गरे।

उनले भने, ‘कोही राष्ट्रपतिलाई महाअभियोग लगाउन पर्छ भनेको छ। राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुष्ठा अथवा के हो यो? संविधान अनुसार, प्रधानमन्त्रीले गरेको सिफारिस नै राष्ट्रपतिले मान्नुपर्छ। अनि राष्ट्रपति माथिको आक्रोश किन? यो गणतन्त्र विरुद्धको खेल हो। राष्ट्रपतिको विरोध, गणतान्त्रिक संस्था, गणतान्त्रिक प्रणाली र गणतन्त्रको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक हो राष्ट्रपति। गणतान्त्रिक प्रणाली माथिको विरोध हो। राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपतिको अपमान गर्ने काम, राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम, आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थ अनुसार भएन भने राष्ट्रपतिका संबैधानिक सिमा र काम कर्तव्यहरु त बुझ्न पर्छ होला नि।’

उनले आफूले गरेको निर्णयमा आफू जवाफदेही भएको भन्दै अनावश्यक रुपमा आवेश र उत्तेजनामा नआउन पनि आग्रह गरे। उनले केही नेताहरुमा आफूले भने जस्तो नभए प्रतिगमन देख्ने प्रवृत्ति हावी भएको टिप्पणी गरे।

उनले भने, ‘म जवाफदेही छु प्रधाननमन्त्रीको हैसियतले। मैले गरेको सिफारिस प्रति म जवाफदेही छु। वैकल्पिक सरकारका लागि मार्ग प्रसस्त गरेर सरकार बनाउनु भन्दा कसरी प्रतिगमन भयो? अहिलेका सरकारका विरोधीहरुलाई एकजुट भएर सरकारलाई विस्थापित गर्ने बाटो खोलिदिएको छ। गर्नुहोस्। भनेजस्तो भएन भने प्रतिगमन देख्नुहुन्छ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दे लोकतन्त्रसँग पराजित भएकाले आफूलाई लोकतन्त्रको पाठ सिकाएको टिप्पणी गरे।

उनले भने, ‘ती मान्छेले लोकतन्त्र सिकाउने? जो लोकतन्त्रका विरुद्ध लडेर, लोकतन्त्रलाई पराजित गर्न नसकेर, लोकतन्त्रले पराजित गरेपछि लोकतन्त्रलाई आधा मनले स्वीकारेर चलिराखेका छन् तीनै मान्छेले लोकतन्त्र पढाउने?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad