राजनीति


राष्ट्रपति ‘रबर स्ट्याम्प’ भइन्, महाभियोग लगाएर हटाऔंः विवेकशील साझा

राष्ट्रपति ‘रबर स्ट्याम्प’ भइन्, महाभियोग लगाएर हटाऔंः विवेकशील साझा

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ३:५९,

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’बनेको आरोप लगाउँदै विवेकशील साझा पार्टीले महाभियोग लगाएर उनलाई बिदा गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिँदै तथा राजीनामा नदिँदै राष्ट्रपति भण्डारीले बिहीबार साँझ विज्ञप्ति जारी गरी संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएकी छन्।

जसलाई विवेकशील साझा पार्टीले असंवैधानिक कदम भनेको छ।

शुक्रबार बिहान विवेकशील साझााका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यसविपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लंघन भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैं रबर स्ट्याम्पसरह सदर गर्नु पूरापूर असंवैधानिक कदम हो।’

यसरी ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीलाई तत्काल महाभियोग लगाएर पदबाट हटाउन विवकेशील साझाले माग गरेको छ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट संविधानविरुद्ध शृंखलाबद्ध रूपमा प्रहार भइरेको उल्लेख गर्दै विवेकशील साझाले संसदमा प्रधानमन्त्री ओलीका विपक्षमा रहेका दल तथा सांसदलाई एक जुट भई नयाँ सरकार गठनमा जुट्न आह्वान पनि गरेको छ।

‘वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता हो,’ विज्ञप्तिमा भनिएको छ।

यसैले संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन र ओलीको विकल्प दिन संसदमा रहेका सबै विपक्षी दल तथा सांसद एक ठाउँमा उभिन विवेकशीले साझाले आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad